सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन : कांग्रेस नेता गगन थापा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीले संविधानमाथि प्रश्न उठाउने काम गरिरहेको आरोप लगाउनुभएको छ । नेता थापाले मन्त्रिपरिषदको निर्णय सार्वजनिक नगर्ने सरकारको पछिल्लो निर्णय संविधानमाथि प्रश्न उठाउने गरी आएको उल्लेख गर्दै आपत्ति समेत जनाउनुभएको छ ।

नेपाल प्रेस युनियन, राष्ट्रिय समाचार समिति (रासस) प्रतिष्ठान शाखाको तेस्रो अधिवेशनको बिहीबार काठमाडौंमा उद्घाटन गर्दै नेता थापाले संविधान कार्यान्वयनका लागि नागरिकको विश्वास आर्जन गर्नुपर्ने बेला प्रधानमन्त्री ओलीका गतिविधि त्यस विपरीत भइरहेको दावी गर्नुभयो ।

संविधानको मूल मर्मअनुसार गतिविधि नगरेकै कारण अहिले संविधान विरोधीहरुले खेल्ने ठाउँ पाएको नेता थापाको तर्क थियो । उहाँले कामै गर्न नसकेको भन्दै वर्तमान सरकार र प्रधानमन्त्री ओलीको आलोचना समेत गर्नुभएको छ । सो अवसरमा पूर्वमन्त्रीसमेत रहनु भएका थापाले जनताको अपेक्षा अनुसार काम नगर्ने छुट सरकारलाई नरहेको समेत स्पष्ट पार्नुभयो ।

Facebook Comments