खेलकुदलाई ब्यबस्थित गर्दैछौं :मन्त्री विश्वकर्मा

यूबा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलकुदलाई ब्यबस्थित, मर्यादित र समयानुकुल बनाउने तर्फ मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ । नेपाल भलिबल संघद्वारा पोखरामा आयोजित पाँच दिने प्रदेशस्तरीय राष्ट्रिय रेफ्रि रिफ्रेशर कोर्षको समापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

खेलकुदमा देखिएका केही गलत प्रवृत्तिका कारण उचित बातावरण बन्न नसकेको तर्फ इगित गर्दै मन्त्री विश्वकर्माले विभिन्न व्यक्तिले राजनीतिक आवरणमा खेलकुदमा बसेर व्यक्तिगत स्वार्थ र अभिष्ट पुरा गर्न खोज्दा समस्या देखा परेको जिकीर गर्नुभयो । खेलकुदमा देखिएका सम्यस्याहरु समाधान गर्दै सिंगो देशको खेलकुद बिकासका लागि मन्त्रालयले काम गरिरहेको उहाँको भनाई थियो ।

खेलकुदमा नयाँ पुस्तालाई आर्कषित गर्न सके मात्रै अन्तर्राष्ट्रिय स्तरका प्रतिभावान खेलाडी उत्पादन हुन सक्ने मन्त्री विश्वकर्माको भनाई थियो । मन्त्रालयले खेलकुदको नयाँ कोर्ष डिजाइन गरी सिटिइभिटी मार्फत प्रमाणपत्र पाउने गरि कार्यदल बनाएर कामको थालनी भइरहेको उहाँले जानकारी दिनुभयो ।

मन्त्रि विश्वकर्माले ७ वटै प्रदेशमा आधुनिक रंगशाला र ७ सय ५३ वटै स्थानिय तहमा खेलग्राम बनाउने गरि मन्त्रालयले कार्यदिशा तय गरेको बताउँदै क्याविनेटले पास गर्ने वित्तिकै कामको थालनी हुने बताउनुभयो ।

खेलकुदका कार्यक्रमहरुलाई नियमित रुपमा संचालन गर्न हरेक दुइ वर्षमा चक्रप्रणालीका आधारमा हरेक प्रदेशमा राष्ट्रिय खेल आयोजना गर्ने समेत बताउनुभयो । यसअघि खेलाडीलाई मात्रै दिने भनिएको स्वास्थ्य विमालाई अब देखि प्रशिक्षक र रेफ्रिहरुलाई समेत दिने गरि काम सुरु गरिने उहाँको भनाई छ ।

नेपाल भलिबल संघका बरिष्ठ उपाध्यक्ष याम बहादुर गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा गण्डकी प्रदेश र अन्य प्रदेश केही जिल्लाका १२ जना राष्ट्रिय रेफ्रि र ४८ जना प्रदेशस्तरिय रेफ्रिहरुलाई प्रमाणपत्र र व्याच प्रदान गरिएको थियो ।

Facebook Comments