वर्तमान सरकार सबै क्षेत्रमा असफलः काँग्रेस नेता गोपालमान श्रेष्ठ

नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले वर्तमान सरकार सबै क्षेत्रमा असफल भएको टिप्पणी गर्नुभएको छ । पार्टीको राजनीतिक प्रस्तावमा सुझाव संकलनका लागि गण्डकी प्रदेश स्तरीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहनुभएका श्रेष्ठले यस्तो बताउनुभएको हो ।

२०१५ सालको निर्वाचनमा काँग्रेसले एकल पार्टीको हैसियतमा नै २ तिहाई ल्याएको पार्टी भएको स्मरण गर्दै नेता श्रेष्ठले नेकपाको नेतृत्वमा ९ महिना वितेपनि शान्ति सुरक्षा कायम हुन नसकेको, महङ्गी बढेको तथा कर बढाउने काममा सरकार तल्लिन रहेको गरेको आरोप लगाउनुभयो । विपीले दिएको समाजवादको नीतिलाई अंगिकार गर्दै अगाडि बढेमा अर्को निर्वाचनमा काँग्रेस पहिलो पार्टी हुने उहाँको दावी रहेको छ ।

देशमा भएका ठूला राजनीतिक आन्दोलन काँग्रेसकै नेतृत्वमा सफल भएको उहाँको भनाई छ । १०४ बर्षे राणाशासनको अन्त्य विपी कोइरालाको नेतृत्वमा, ३० बर्ष पञ्चायतको विरुद्ध गणेशमान सिंहको नेतृत्वमा र ६२/६३ को आन्दोलनमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा आन्दोलन सफल भएको दावी नेता श्रेष्ठले गर्नुभयो ।

कार्यक्रममा काँग्रेस गण्डकी प्रदेशका नेता शुक्रराज शर्माले नयाँ पद्दतिबाट पार्ती सञ्चालन गर्ने, समाजवादलाई व्यवहारमा उतार्नुपर्ने तथा राजनीतिक प्रस्तावमा मुलुकलाई भारतसँगको सम्बन्ध भाइचारा र चीनसँगको सम्बन्ध मित्रताको आधारमा हुनपर्ने लगायतका विषय समावेश गर्नुपर्ने बताउनुभयो ।

काँग्रेसले बहुलवाद, लोकतान्त्रिक समाजवाद, संसदीय व्यवस्था नछाडेको भन्दै पूर्वमन्त्री एवं काँग्रेस नेता यज्ञबहादुर थापाले जनताको वीचमा राम्रा नीति कार्यक्रम लिएर जानुपर्ने बताउनुभयो । काँग्रेसले सातै प्रदेशमा राजनीतिक मस्यौदामा सुझाव संकलन गर्ने कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशस्तरीय कार्यशाला आयोजना गरेको हो ।

Facebook Comments