श्रमजीवि पत्रकार ऐन कार्यान्वयन गर्न पत्रकार महासंघको माग

कास्कीमा सञ्चालित सञ्चारमाध्यमहरुमा श्रमजीवि पत्रकार ऐन कार्यान्वयन नभएको पाइएको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाले जिल्लमा संचालित मिडिया हाउसहरुको कार्तिक २७ र २८ गते स्थलगत अनुगमन गर्दा यस्तो पाइएको हो । पत्रकारको पेशागत सुरक्षाका लगि श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न दवाव सिर्जना गर्ने उद्धेश्यले मिडिया अनुगमन गरिएको महासंघले जनाएको छ ।

दैनिक पत्रिका, टेलिभिजन, एफ एम रेडियो र अनलाइन गरी पहिलो चरणमा १९वटाको स्थलगत अनुगमन गर्दा सरकारले हालै जारी गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन नभएको देखिएको महासंघले जनाएको छ । यसअघि सरकारले तोकेको न्यूनतम पारिश्रमिक र अन्य सुविधा भने केहि मिडिया हाउसले कार्यान्वयन गरेको पाईएको महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा पत्रकारको पेशागत सुरक्षा र पत्रकारिताको विकासका लागि श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको माग गरिएको छ । साथै नियुत्ति पत्र, तोकिएको न्युनतम पारिश्रमिक, कर्मचारी संचयकोष, दुर्घटना र स्वास्थ्य विमा गर्न, उपदानको ब्यवस्था गर्न, पत्रकारको बृत्ति विकासका कार्यक्रम गर्न सबै मिडियासंग महासंघ कास्की शाखाले आग्रक गरेको छ । पत्रकारहरुलाई पनि श्रमजिवी पत्रकार ऐनले तोकेको ब्यवस्था अनुसार आफ्नो अधिकार खोज्न र कुनै समस्या आएमा नेपाल पत्रकार महासंघ कास्की शाखामा सम्पर्क राख्न समेत अनुरोध गरिएको छ ।

Facebook Comments