भरतपुर महानगर क्षेत्रमा विग्रिएका सिसि क्यामरा मर्मतमा बेवास्ता

शान्ति सुरक्षा बहाल राख्न सहयोग पुर्याउने उद्देश्यसहित भरतपुर महानगरपालिकामा जडान गरिएका सिसि क्यामरामध्ये अधिंकाश प्रयोगविहीन बनेका छन् । अपराध अनुसन्धान र नियन्त्रणमा सहयोग पुर्याउन महानगर क्षेत्रमा ३७ वटा सिसि क्यामरा जडान गरिए पनि ८ वटा मात्र सञ्चालनमा रहेका छन् ।

बाँकी २९ वटा सिसि क्यामरा विग्रिए पनि मर्मत सम्भारका लागि चासो दिइएको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले सिसि क्यामरा विग्रिएको र मर्मत पनि भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार चितवन जिल्लामा ९९ सय वटा सिसि क्यामरा जडान भएपनि अधिकांश काम नगर्ने अवस्थामा छन् ।

सिसि क्यामरा जडानका लागि चितवन जिल्लाभित्रका स्थानीय तहसँग समन्वय भइरहेको र आवश्यक ठाउँमा जडान गरिने राठौरको भनाई छ । जिल्ला प्रहरी कार्यालय चितवन परिसरमा मात्रै ३२ ओटा सीसी क्यामरा प्रयोग भएको छ । अपराध अनुसन्धान र न्यूनीकरणमा सीसी क्यामराले महत्वपूर्ण भूमिका खेल्ने प्रहरी प्रमुख राठौरको भनाई छ ।

चोरी गर्नेले भने सीसी क्यामरा नै विगारिदिने घटनाहरु पनि रहेको भन्दै राठौरले निजी क्षेत्रले सीसी क्यामरा जडान गरेपछि प्रहरीलाई जानकारी गराउन आग्रह गर्नुभयो । उहाँका अनुसार सवारी साधनले दुर्घटना गराएर भाग्ने हिट एण्ड रन, चोरी डकैती, झै–झगडा, कुटपिट लगायतका घटनाको अनुसन्धान गर्न सीसी क्यामराको प्रयोगले सहयोग पुग्ने गरेको छ ।

Facebook Comments