पोखरालाई पर्यटनसँगै शैक्षिक गन्तव्य बनाउँछौ : मेयर जिसी

विद्यालय क्षेत्र सुधार कार्यक्रममा सहयोग गर्दै आएको फिनल्यान्डले पोखरा महानगरपालिकाको शिक्षा योजना बारेमा छलफल गरेको छ । नेपालका लागि फिनल्यान्डका राजदूत पे्रती एन्टिनेनसहितको १५ सदस्यीय टोलीले महानगरका मेयर मानबहादुर जिसी, उपमेयर मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल, शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य लगायतसँग सोमबार छलफल गरेको हो ।

छलफलमा मेयर जिसीले पोखरालाई पर्यटनसँगै शैक्षिक गन्तव्य बनाउन महानगर लागि परेको उल्लेख गर्नुभयो । उहाँले महानगरले शिक्षा कार्यविधि बनाइसकेको र सीमित स्रोत साधनलाई उच्चतम प्रयोग गरी गुणस्तरीय शिक्षा दिन गरी काम अगाडि बढाइएको समेत उल्लेख गर्नुभयो । मेयर जिसीले शिक्षा कार्यविधि अनुसार शिक्षा परिषद् गठन गरी पोखराको शिक्षाको अध्ययन अनुसन्धान गरी दक्ष जनशिक्त उत्पादनमा महानगरले प्राथमिकता दिने बताउनुभयो ।

कार्यक्रममा उपमेयर मञ्जुदेवी गुरुङले एक वडा एक स्मार्ट विद्यालय बनाउने योजना महानगरले ल्याएको जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले संघीय संरचना अनुसार शिक्षाको जिम्मेवारी पनि महानगरमा आएकाले योजनावद्ध रुपमा काम गर्ने बताउँदै शिक्षालाई प्राथमिकता राखेको बताउनुभयो ।

शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले शिक्षामा सुधार ल्याउन महानगरले गरेका काम र योजनाको बारेमा राजदूतलाई जानकारी गराउनभएको थियो । उहाँका अनुसार शैक्षिक सत्र २०७६ देखि महानगरका भित्रका विद्यालयका कक्षा कोठालाई धुलो मुक्त बनाएर सेतोपाटी राख्ने कार्यक्रम रहेको छ । पोखरा महानगर क्षेत्रमा २ सय ११ सामुदायिक र १ सय ७८ वटा संस्थागत विद्यालय रहेका छन् । छलफलमा राजदूत प्रेती एन्टिनेनले पोखरालाई शैक्षिक गन्तव्य बनाउने योजना पूरा हुने विश्वास व्यक्त गर्नुभयो । राजदूतसहितको टोलीले पोखराका केही विद्यालयको भ्रमण समेत गरेको थियो ।

Facebook Comments