सञ्चारमन्त्री बाँस्कोटा र नेपालका लागि फ्रान्सका राजदूत लेजेविच भेटवार्ता

नेपाल सरकारका प्रवक्ता एवम् माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटा र नेपालका लागि फ्रान्सका महामहिम राजदूत फंस्वा–जाभिए लेजेबीच आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्तामा माननीय मन्त्रीज्यूले नेपालका लागि फ्रान्सका राजदूतका रूपमा लेजेको कार्यकाल सफल बन्ने र उहाँको कार्यकालमा नेपाल–फ्रान्स सम्बन्ध अझ सुदृढ बन्ने विश्वास व्यक्त गर्नुभयो ।

आगामी वर्ष नेपाल–फ्रान्स कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुरा हुने उल्लेख गर्दै उहाँले विगतमा झैं आगामी दिनमा पनि दुई देशबीच सहकार्य जारी रहने बताउनुभयो । साथै, दुई देशबीच उच्चस्तरिय भ्रमण आदानप्रदान मार्फत द्विपक्षीय सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गर्नुभयो ।

फ्रान्सले नेपालको विकासमा गर्दै आएको सहयोगको नेपाल सरकारले उच्च मूल्यांकन गरेको मन्त्री बाँस्कोटाले बताउनुभयो । साथै, नेपाल सरकारले अघि सारेको “समृद्ध नेपाल सुखी नेपाली” को लक्ष्यलाई हासिल गर्न फ्रान्सको पुँजी, प्रविधि र सिप उपयोग गर्न नेपाल सरकार इच्छुक रहेको जानकारी दिनुभयो ।

जवाफमा राजदूत लेजेले नेपालमा फ्रान्सको लगानी वृद्धि गरी द्विपक्षीय व्यापार अभिवृद्धि गर्दै नेपाल–फ्रान्स वीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन आफू सक्रिय हुने विश्वास दिलाउनुभयो । दुई देशबीच प्रविधि आदानप्रदान, लगानी, व्यापार लगायत विषयमा फ्रान्सको निजी क्षेत्रलाई समेत संलग्न गराउन आफू प्रयत्नशील रहने बताउनुभयो ।

भेटका अवसरमा राजदूत लेजेले पासपोर्ट लगायत सम्बेदनशील सामग्री छपाई गर्ने सेक्युरिटी प्रेस नेपालमा राख्ने गरी नेपाल सरकारलाई सघाउन फ्रान्सका कम्पनीहरूसँग आफूले पहल गर्न चाहेको बताउनुभयो । जवाफमा मन्त्री बाँस्कोटाले राजदूतको भनाईको सराहाना गर्दै नेपालले आफ्नै स्याटलाइट स्टेसन राख्न चाहेको र यसका लागि अन्तरिक्ष सम्बन्धी प्रविधिमा फ्रान्सले हासिल गरेको प्रगतिबाट लाभान्वित हुन खोजेको कुरामा जोड दिनुभयो ।

Facebook Comments