अधिनायकवाद विरुद्ध जुध्न कार्यकर्तालाई कांग्रेस सभापति देउवाको निर्देशन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ । सोमबार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सभापति शेर बहादुर देउवाले वर्तमान सरकार अधिनायकवादतर्फ सोझिएको दाबी गर्नुभएको हो ।

दुई तिहाइको सरकार गठनसँगै मुलुकमा राजनीतिक स्थिरता आएको चर्चा गरिए पनि त्यसको महशुस जनताले गर्न नसकेको भन्दै सभापति देउवाले मुलुकको राजनीति सत्ताउन्मुख हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । अधिनायवादले प्रजातन्त्रलाई नष्ट गर्ने भन्दै देउवाले २००७ सालदेखि प्रजातन्त्रको पक्षमा लड्दै आएको पृष्ठभूमिमा फेरि एकपटक प्रजातन्त्र र लोकतन्त्रको संरक्षणका लागि एकजुट हुन कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले सर्वसत्तावाद उन्मुख सरकारको नियत र अधिनायकवादी चरित्र सदाका लागि अन्त्य गर्न पार्टीले सशक्त प्रतिकार गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रजातन्त्र रक्षाका लागि विगतमा भएका गल्ती कमजोरीलाई बिर्सेर एकढिक्का भई अघि बढ्न पनि उहाँले नेता कार्यर्तालाई निर्देशन समेत दिनुभयो । पार्टीको महासमिति बैठकको सन्दर्भमा राजनीतिक प्रस्ताव मस्यौदा सुझाव संकलनका लागि कांग्रेसले ३ नम्बर प्रदेशका सांसदहरूको भेला बोलाएको थियो ।

Facebook Comments