कर्मचारीहरुको कर्म एकातिर चहार्ने अर्कोतिरः मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको कार्य क्षेत्रमा गएर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । मन्त्री पण्डितले ‘कर्म एकातिर चाहार्ने अर्कोतिर’ भन्दै कर्मचारीहरूप्रति असन्तुष्टि समेत जनाउनुभएको छ । मन्त्री पण्डितले देश नचिन्ने तर विदेश चिन्ने कर्मचारीहरूको देशलाई कामै नभएको समेत स्पष्ट पार्नुभयो ।

सोमबार ललितपुरमा आयोजित ३३ औं आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पण्डितले आफ्नो कर्मप्रति जवाफदेही हुने गरी आवश्यक प्रशिक्षण दिन पनि मातहतका निकायलाई सचेत गराउनुभयो । कर्मचारीहरूले देशको हित हुने गरी काम नगरेको मन्त्री पण्डितको गुनासो रहेको थियो ।

सो अवसरमा मन्त्री पण्डितले दुर्गम क्षेत्रको स्थानीय तहमा काम गर्ने कर्मचारीलाई थप सुविधा उपलब्ध गराउने घोषणा पनि गर्नुभयो । कर्मचारीको आवश्यक सेवा, सुविधा वृद्धि गर्न सरकारले संघीय निजामती सेवा ऐन ल्याउने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । प्रशिक्षणमा ३ सय ६५ जना शाखा अधिकृतहरू सहभागी छन् ।

Facebook Comments