किराँत सेवा समाजद्वारा २ लाख ८१ हजारको सहयोग कोष स्थापना

किराँत सेवा समाज कास्कीले २ लाख ८१ हजार ५ सय २१ को सहयोग कोष स्थापना गरेको छ । समाजले नेपालीहरुको महान पर्व तिहारको अवसरमा आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट संकलन गरेको २ लाख ८१ हजार ५ सय २१ रुपैयाको सहयोग कोष स्थापना गरेको हो ।

गत शनिवार किराँत सेवा समाज कास्कीको प्राङगण पोखरा १५ टुटङगामा आयोजना गरेको देउसीभैलो कार्यक्रमबाट उक्त रकम संकलन भएको थियो । देउसीभैलो कार्यक्रममा विभिन्न ब्याक्तिहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा पूर्वेली चेली गण्डकी प्रदेशका उपसभामुख सृजना शर्मालाई सम्मान गरिएको थियो ।

सम्मान ग्रहण गर्दै गण्डकी प्रदेश उपसभामुख शर्माले पूर्वबाट पोखरा आइ बसोबास गर्ने पूर्वेलीहरुको संस्था किराँत सेवा समाजको सम्मानले आफु खुशी भएको वताउँनुभयो । पश्चिममा बस्ने किराँतहरुले आफ्नो भाषा, कला र संस्कृतिको जगेर्ना गर्न लागेकोमा आभार व्यक्त गर्नुभयो । शर्माले आफ्नो तर्फबाट हुन सक्ने सहयोग किराँत समाजलाई गर्ने समेत प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

सो अवसरमा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य इन्द्रधारा विष्ट, समाजका सल्लाहकार गणेश देवान, पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष प्रकाश पौडेल लगायतले किराँतहरुले आफ्नो भाषा, संस्कृति र संस्कारको संरक्षणमा लागेकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा यसलाई निरन्तरता दिन समेत आग्रह गरेका थिए ।

कार्यक्रममा पूर्वेली कला र संस्कृति झल्काउने साकेला, च्याब्रुङ, चण्डी नाच, मारुनी नाच लगायतका सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो । किरांत सेवा समाज कास्कीका अध्यक्ष लोकेन्द्र राइको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समाजका सचिव नविन राइले सञ्चालन गरेका थिएभने सांस्कृतिक कार्यक्रमको संचालन लेकसाइड इकाइका सचिव अनुज कुलुङले गरेका थिए । आफ्नो समाजमा रहेका कुनैपनि सदस्यहरु जो आर्थिक अवस्था कमजोर भएकालाई भइपरि आउने दुर्घटना, आपत विपदको वेलामा सहयोग गर्ने उद्देश्यले सहयोग कोषको स्थापना गरिएको किराँत सेवा समाज कास्कीले जनाएको छ ।

Facebook Comments