विश्व मत्स्य दिवसः लोपोन्मूख प्रजातिका माछा संरक्षणमा जोड

विश्व मत्स्य दिवसको अवसरमा पोखराको फेवातालमा माछाका १० हजार भुरा छाडिएको छ । विश्व मत्स्य दिवस नोभेम्बर २१ को दिन मत्स्य अनुसन्धान केन्द्र पोखरा, हर्पन फेवा मत्स्य सहकारी संस्था र माछापुच्छ्रे जलारी आमा समूहको संयुक्त आयोजनामा बुधबार फेवातालमा स्थानिय प्रजातीका माछाका १० हजार भुरा छाडिएको हो । कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले माछाका भुरा फेवातालमा छाड्नुभएको हो ।

फेवातालमा पोखरामा उत्पादित सहर तथा अन्य स्वदेशी माछाका भुराहरु छाडिएको मत्स्य अनुसन्धान केन्द्र पोखराका निर्देशक अग्नी नेपालले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले स्थानिय प्रजातिका माछा लोपोन्मुख अवस्थामा पुगेको बताउँदै यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले महानगरले स्थानिय प्रजातीका माछा र त्यसमा निर्भर जलारी समुदायको संरक्षणका लागि योजना बनाएर काम गर्ने बताउनुभयो । हर्पन फेवा मत्स्य सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर जलारीले फेवातालमा स्थानिय जातका माछा लोप हुँदै जानुका साथै माछाको उत्पादन घट्दै जाँदा आफूहरुको ब्यवसय संकटमा परेको बताउनुभयो ।

Facebook Comments