नागरिकलाई स्मार्ट सेवा दिनुपर्छ : मेयर जिसी

पोखराको १५ नं वडा कार्यालयको नयाँ भवन बुधबार उद्घाटन गरिएको छ । एउटा हल सहित चार कोठे उक्त भवनको पोखरा महानगरका मेयर मानबहादुर जिसीले उद्घाटन गर्नुभएको हो । उद्घाटनपछि बोल्दै मेयर जिसीले संविधानले वडालाई धेरै नै अधिकार दिएकाले वडावासीको प्रशासनीक कार्य सहजताका लागि भवन महत्वपूर्ण हुने बताउनुभयो ।

वडा नं १५ का स्थानीयलाई अब भवन जस्तै स्मार्ट सेवा प्रवाह हुनुपर्ने बताउनुभयो । जनताको गुनासो एक छिन सुन्ने एक मिनेटमा काम सुरु गर्ने एक घण्टामा घर पठाउन सकिने वातावरण बन्नुपर्नेमा मेयर जिसीको जोड थियो ।

मेयर जिसीले पोखरा महानगरपालिका प्रविधीमैत्री बन्दै सेवालाई चुस्त दुरुस्त र गुणस्तरीय बनाउदै अगाडि बढिरहेको भन्दै वडा नं १५ ले संचालन गरेको सिसीटिभी जडान अभियान निकै प्रभावकारी भएको उल्लेख गर्नुभयो । वडा अध्यक्ष प्रकाश पौडेलले जनताको सेवाकै लागि आफू अहोरात्र काम गरिएको बताउनुभयो । ३८ लाख ५० हजारको लागतमा निमार्ण भएको उक्त भवनको तला थप्ने कार्य बाँकी छ ।

Facebook Comments