डडेल्धुरामा बस दुर्घटनामा परी १८ जनाको निधन

डडेल्धुरामा बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटनामा परेको हो ।

डोटीको शिखर नगरपालिका अन्तर्गत बानिडुग्रेसइन स्थित भाडामा लिइएको पीसजोन एकेडेमीको बस दुर्घटना दुर्घटनामा परेको हो । उद्दार कार्य जारी रहेको र घाइतेहरुलाई अस्पतालमा लगिएको जिल्ला पहरी कार्यालय डडेल्धुराका डिएसपी डम्बरबहादुर केसीले जानकारी दिनुभयो ।

अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेलाबाट फर्कनेहरु दुर्घटनामा परेको बताइएको छ । बसमा करिब ३५ जनाभन्दा बढी यात्रु सवार रहेको जनाइएको छ । बस सडकबाट करिब ३०० मिटर तल खोलामा खसेको जनाइएको छ ।

घाइतेहरुको उपक्षेत्रीय अस्पताल, डडेल्धुरामा उपचार भैरहेको छ । मृत्यु हुनेमा धेरै बालबालिका रहेको र मृतकको संख्या बढ्न सक्ने बताइएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका डिएसपीको नेतृत्वमा जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी घाइतेको उद्धारमा खटिएका छन् ।

Facebook Comments