मंसिर १३ देखि सफल पोखरा एक्स्पो हुने

मंसिरको १३ गतेदेखि २४ गतेसम्म ‘सफल पोखरा एक्स्पो’ हुने भएको छ । ‘लगानीको सम्बद्र्धन ः उद्योग व्यवसायको प्रबद्र्धन’ भन्ने मूल नारासहित पोखरा उद्योग वाणिज्य संघले पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा एक्स्पोको आयोजना गर्न लागेको हो । पोखरा उद्योग वाणिज्य संघले यसअघि गर्दै आएको राष्ट्रिय औद्योगिक व्यापार मेलाको परिष्कृत रुप दिन यस वर्षदेखि सफल पोखरा एक्स्पो साथमा तेस्रो मोबाइल मेला सँगसँगै आयोजना गर्न लागिएको विहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

साँस्कृतिक कार्यक्रमसहित औद्योगिक उत्पादन लगायतका करिब ३ सय स्टलहरु र बाल उद्यान एक्स्पोको मुख्य आकर्षण रहने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले जानकारी दिनुभयो ।

साँस्कृतिक कार्यक्रमतर्फ लोकदोहरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त ब्याण्डहरुको सांगीतिक प्रस्तुती, विद्यालयस्तरिय लोकनृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, पप कन्सर्ट, हाँस्य कलाकारद्धारा मनोरञ्जनात्मक कार्यक्रम, प्रबेश टिकटमा दैनिक पुरस्कारको व्यवस्था, बम्पर पुरस्कार, उत्कृष्ट स्टललाई पुरस्कार, चमेनागृह, बाल उद्यान एक्स्पोको विशेष आकर्षण रहने छन् ।

अध्यक्ष अधिकारीका अनुसार नेपाल पर्यटन बोर्ड एवं पोखरा पर्यटन परिषदको सहकार्यमा एक्स्पोमा होमस्टे प्रबद्र्धन तथा पर्यटकीय गन्तव्यबारे जानकारी दिने स्टलहरु पनि रहनेछन् । एक्स्पोको ८५ प्रतिशत स्टलहरु बुकिङ भइसकेको आयोजकले जानकारी दिएको छ ।

करिब २ लाख दर्शकले एक्स्पोको अवलोकन गर्ने अनुमान लगाइएको छ । एक्स्पो तथा मोवाइल मेलाको तयारी प्रचार प्रसार तिब्र पारिएको अध्यक्ष अधिकारीले दिनुभयो । एक्स्पोमा प्रवेश टिकट सर्वसाधारणका लागि ६० र विद्यार्थीहरुका लागि ४० रुपैयाँ रहने जनाइएको छ । एक्स्पोबाट आम्दानी ९० लाख र ६० लाख खर्च भई ३० लाख रुपैया बचत हुने अनुमान गरिएको छ ।

Facebook Comments