शिक्षा क्षेत्रमा व्यापारीकरण तोड्नुपर्छ : शिक्षामन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा व्यवसायिकताको भन्दा पनि व्यापारीकरणको खतरा बढ्दै गएको बताउनुभएको छ । काभ्रेको धुलिखेलमा काठमाडौ विश्वविद्यालयको २४ औं दीक्षान्त समारोहमा उहाँले शिक्षाको क्षेत्रमा अहिले विभिन्न समस्या थपिदै गएको बताउनुभयो ।

कुनै अध्ययन, योजना रेखाङ्कन विना नै यस क्षेत्रमा लगानी पनि बढेको भन्दै मन्त्री पोखरोलले उच्च शिक्षामा रहेको ब्यापारीकरण तोड्नुपर्ने बताउनुभयो । यसैवीच, काठमाडौ विश्वविद्यालयको २४ औं दीक्षान्त समारोहको पहिलो चरणबाट १ हजार ५ सय ५५ जना दीक्षित भएका छन् । स्कुल अफ मेडिकल साइन्स अन्तर्गत डिएम र एमसिएच तहका ५ जना एमडि र एमएस तथा एमडिएस तहका एक सय ९३ जना, एमविविएस तहका ९ सय ६९, विडिएस तहका १ सय ६६ जना दीक्षित भएका छन् ।

त्यस्तै विएस्सी नर्सिङ तर्फका १ सय ८२, व्याचलर्स अफ फिजियोथेरापी तहका २२ जना,व्याचलर अफ नर्सिङ साइन्स तहका १८ जना रहेका छन् । जसमध्ये ९ सय ८ जना पुरुष र ६ सय ४७ जना महिला हुन् भने १ सय ६१ जना विदेशी विधार्थी रहेका काठमाडौ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका डिन डा. राजेन्द्र कोजुले जानकारी दिनुभयो । हालसम्म मेडिकल शिक्षामा १३ हजार ७ सय १९ जना काठमाडौ विश्वविद्यालयबाट दीक्षित भइसकेको कोजुले बताउनुभयो ।

Facebook Comments