वाइडबडी जहाज प्रक्ररणः २४ घण्टाभित्र संसदीय समितिलाई कागजात बुझाउने पर्यटनमन्त्री रविन्द्र अधिकारीको घोषणा

नेपाल सरकारका संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले वाइडवडी विमान खरिदका कागजात २४ घण्टाभित्र संसदीय समितिलाई बुझाउने प्रतिवद्धता जनाउनुभएको छ ।

संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिमा सांसदहरुले वाइडबडी खरिद प्रकरणमा अनियमितता भएको भन्दै खरिद प्रकरणका कागजपत्रहरु माग गरेपछि मन्त्री अधिकारीले २४ घण्टाभित्र बुझाउने प्रतिवद्धता जनाउनुभएको हो ।

सार्वजनिक चासोको विषयमा संसदीय समितिमा छानबिन हुनु सकरात्मक भएको भन्दै उहाँले समितिबाट हुने छानबिनमा मन्त्रालयको पूर्ण सहयोग हुने बताउनुभयो । आफू मन्त्री हुँदा उक्त विमान खरिद प्रक्रिया पूरा भइसकेको तर, त्यसको नैतिक जिम्मेवारी लिने भन्दै मन्त्री अधिकारीले अरु दोषी देखिए पनि कारबाही गर्ने बताउनुभयो ।

समिति बैठकमा सांसदहरुले वाइडबडीको स्वामित्व प्रष्ट नभएको भन्दै प्रमाण पेश हुनुपर्ने धारणा व्यक्त गरेका थिए । नेकपाका सांसद भीम रावलले वाइडबडी विमान आएको तर त्यो किनेर ल्याएको हो कि भाडामा ल्याएको हो भन्ने प्रष्ट नभएकाले खरिद गरेको प्रमाणपत्र नै उपलब्ध हुनुपर्ने माग गर्नुभएको थियो ।

बैठकमा कांग्रेस सांसद सुजाता कोइराला, दिव्यमणि राज भण्डारी, प्रकाशमान सिंह, डा. नारायण खड्का, नेकपा सांसद अग्नि सापकोटा, सांसद नारदमुनी राना लगायतले उपसमिति गठन गरी विस्तृत छानबिन हुनुपर्ने माग गर्नुभएको थियो ।

Facebook Comments