विश्व बैंकको ‘डुइङ विजनेस’ प्रतिवेदनमा सरकारको आपत्ति 

नेपालको ‘डुइङ बिजनेस’ कमजोर हुँदै गएको दावीसहितको सार्वजनिक भएको विश्व बैंकको प्रतिवेदनप्रति परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आपत्ति जनाउनुभएको छ । जापानको साताव्यापी भ्रमणपछि शुक्रबार स्वदेश फर्किनुभएका मन्त्री ज्ञवालीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँगको कुराकानीमा विश्व बैंकको सो प्रतिवेदन यथार्थपरक नरहेको भन्दै यसबारेमा सरकारले विश्व बैंकको ध्यानाकर्षण गराएको जानकारी दिनुभयो ।

मन्त्री ज्ञवालीले नेपाल व्यापार र लगानीको दृष्टिले गत वर्षभन्दा नीतिगत, कानुनी प्रबन्ध, संरचनालगायतका सबै दृष्टिले सुधारोन्मुख रहेको दावीसमेत गर्नुभएको छ । विश्व बैंकले केही दिन अघि सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाल व्यापार व्यवसायका लागि सहज देशमध्ये (डुइङ विजनेसमा) १ सय १० औं स्थानमा छ ।

अघिल्लो वर्ष १ सय ५ औं स्थानमा थियो । सोही प्रतिवेदन यथार्थपरक नभएको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पनि असन्तुष्टि जनाईसक्नुभएको छ । सो अवसरमा परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो जापान भ्रमण सफल रहेको दावी समेत गर्नुभयो ।

जापानका परराष्ट्रमन्त्री तारो कोनोको निमन्त्रणामा मन्त्री ज्ञवाली गत मंसिर १ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान जानुभएको थियो । भ्रमणका क्रममा जापानले नेपालको खाद्य सहायता कार्यक्रमका लागि ३ सय ५० मिलिनियम जापानी यान बराबारको अनुदान सहायता उपलब्ध गराउने सम्झदारी पत्रमा पनि हस्ताक्षर भएको छ ।

Facebook Comments