नेपाल पत्रकार महासंघ कास्की शाखाको १४ औँ साधारणसभा सम्पन्न नकरात्मक समाचार लेखेपनि सुझावका रुपमा लिन्छौं : महानगर प्रमुख जिसी

नेपाल पत्रकार महासंघ कास्की शाखाको १४ औँ साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको बन्दसत्रले सचिव तथा कोषाध्यक्षको प्रतिवेदन छलफल सहित पारित गरेको छ । यसअघि महासंघकै सभाहलमा शुक्रबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले साधारणसभाको उद्घाटन गर्नुभएको थियो ।

उहाँले विद्यार्थी भर्ना अभियान अन्तर्गत विद्यार्थीलाई भर्ना गर्ने, टिकाउने र सिकाउने रणनीति तय गरिएको भन्दै पत्रकारिता क्षेत्रमा पनि टिकाउने रणनीति अवलम्बन गर्न सुझाव दिनुभयो ।  पत्रकारले स्थानीय सरकारका विषयमा गर्ने नकारात्मक समाचारलाई पनि महानगरपालिकाले सुझावको रुपमा ग्रहण गर्ने उहाँको भनाई थियो । मेयर जिसीले भन्नुभयो, ‘राम्रा मात्रै समाचार लेख्ने होइन राम्रो पोखरा बनाउने दायित्व सबैको हो । नराम्रा समाचार लेखेर केही फरक पर्दैन त्यसलाई सुझाकै रुपमा ग्रहण गर्छौ ।’ अहिले पोखराका सन्दर्भमा आइरहेका समाचार सामग्रीहरु सकारात्मक नै रहेको मेयर जिसीको भनाई छ ।

पोखराका सन्दर्भमा उपयुक्त सञ्चार नीति तय गर्न महानगर तयार रहेको उहाँको भनाई थियो । महानगरलाई स्मार्ट बनाउने लक्ष्य राखिरहँदा पत्रकारिता पनि स्मार्ट हुुनुपर्ने भन्दै सञ्चारमाध्यम, तथा सञ्चारकर्मीको हितको लागि महानगरले २५ लाख रुपैयाँ राशीको पत्रकार बृत्ति कोष स्थापना गरिएको जानकारी दिनुभयो ।

पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले न्यूनत पारिश्रमिक लागू नगर्ने सञ्चारमाध्यम चलाउनुको कूनै अर्थ नरहने बताउनुभयो । उहाँले शाखाहरु मध्ये कास्की शाखा नमुना शाखा रहेको उल्लेख गर्नुभयो । आचार्यले पेशागत सुरक्षा र प्रेस स्वतन्त्रताको रक्षाका लागि महासंघले पहल गरिरहेको बताउनुभयो ।

पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले निर्वाचित भएको छोटो समयमै कास्की शाखाले आफ्ना गतिविधीहरुमा तीर्वता दिएको र देशमै नमूना शाखाको रुपमा स्थापित भएको बताउनुभयो ।

कार्यक्रममा कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रिय सदस्य राजकाजी गुरुङ, गण्डकी प्रदेशसभा सदस्यद्धय रामजीप्रसाद बराल, ईन्द्रधारा विष्ट, कास्की शाखाका पूर्व अध्यक्ष बद्रीविनोद प्रतीक, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारी,महासंघका उपाध्यक्ष विमला भण्डारी, सचिव रामप्रसाद तिमिल्सिना लगायतले बोलेका थिए ।

साधारणसभाले संविधानमा उल्लेखित प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति गराउनुका साथै स्वतन्त्रता संकुचित पार्ने कुनै पनि काूनन जारी नगर्न सरकारसँग माग गरेको छ । त्यस्तै हालै जारी भएको न्यूनतम पारिश्रमिक र श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर्न, स्थानीय र प्रादेशिक तहका कार्यालयका सूचना तथा कार्यक्रम विवरण स्थानीय सञ्चारमाध्यममा प्रकाशन प्रसारण गर्न महासंघले पहल गर्ने, पत्रकारको वृत्ति विकासको लागि आवश्यक तालिम, अध्ययन, अनुसन्धानका लागि प्रदेशस्तरमा आमसञ्चार अध्ययन प्रतिष्ठान सञ्चालन गर्न सम्बन्धित सरकारको गम्भीर ध्यानाकर्षण गराउने र प्रादेशिक स्तरमै सूचना तथा प्रविधि विभाग, सूचना आयोग र प्रेस काउन्सिलको कार्यालय स्थापना गर्न माग गरिएको छ ।

समाचार प्रकाशनका गरेकै कारणबाट पत्रकारमाथि हुँदै आएका दुव्र्यवहारपूर्ण क्रियाकलापमा संलग्नलाई कारवाही गर्नुपर्ने, महिला, आदिवासी, जनजाति, अल्पसंख्यक लगायतलाई न्युजरुममा समावेश गराउन समेत माग गरिएको छ । त्यस्तै महासंघको आगामि केन्द्रीय साधारणसभा पोखरामा गर्न माग गर्ने तथा सदस्यता शुद्धीकरण र केन्द्रिकृत निर्वाचन प्रक्रियालाई परिमार्जन गरी संघीय संरचनामा जान महासंघ केन्द्रसँग माग गर्ने निर्णय गरिएको महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

साधारणसभाको अवसरमा महासंघको भौतिक विकास तथा विभिन्न माध्यमबाट सहयोग गर्ने व्यक्ति तथा संस्थाहरु गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङ, इन्ध्रधारा विष्ट, नेपाल पर्यटन बोर्ड, हरियो वन नेपाल, बावा फाउन्डेशन, एनआईसी एशिया बैंक, पत्रकार राजु भण्डारी, सुदर्शन रञ्जित, होटल टाईम्स, गण्डकी मेडिकल कलेज, गणेशबहादुर श्रेष्ठ, गणेशबहादुर थापा, सन्तोष घिमिरे, रमेश थापा, पोखरा ईन्टरनेट, रामचन्द्र शर्मा र विष्णु चापागाईलाई सम्मान गरिएको छ ।

Facebook Comments