नारायणहिटी दरबारका ३१ कोठा अवलोकनका लागि खुल्ला

सरकारले नारायणहिटी संग्रहालयमा रहेका थप १० कोठा सार्वजनिक अवलोकनका लागि खुला गरेको छ । यसअघि २१ ओटा कोठा सार्वजनिक अवलोकनका लागि खुल्ला रहेकामा थप १० ओटा खुल्ला भएपछि ३१ कोठा अवलोकनका लागि खुल्ला भएको हो । तत्कालीन राजदरबार नारायणहिटीभित्र रहेका पुस्तकालय र सिनेमा हलबाहेक सबै १० कोठा शुक्रबारबाट खुला गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ती कोठा औपचारिक रूपमा खुला गर्नुभएको हो ।

मुलुकमा गणतन्त्र स्थापनापछि सरकारले तत्कालीन नारायणहिटी राजदरबारलाई संग्रहालयमा परिणत गरी सर्वसाधारणका लागि खुला गरेको थियो । हाल नारायणहिटी संग्रहालय पर्यटन मन्त्रालय अन्तर्गत पर्छ । शुक्रबारबाट सिन्धुली, झापा, इलाम, सुनसरी, सप्तरी, सिराहा, पर्सा, चितवन, कपिलवस्तु र अंगरक्षकहरूको कार्यकक्ष नाम गरेका कोठा खुला गरिएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

पर्यटन मन्त्रालयका अनुसार सिन्धुली कोठामा रहेको शृंगार कक्ष तत्कालीन रानीले पोसाक पहिरिने, शृंगार गर्ने तथा दिउँसोको खानापछि आराम गर्ने कक्षका रूपमा प्रयोग हुने गथ्र्यो । झापा कोठमामा रहेको प्रतीक्षालयमा छलफल तथा दर्शनभेट कार्यक्रम हुँदा आउने पाहुनाको प्रतीक्षालयका रूपमा प्रयोग हुन्थ्यो ।

त्यसैगरी इलाम कोठामा रहेको गणेश हिमाल कार्यकक्षमा तत्कालीन राजाले साताको एक दिन बिहीबार प्रधानमन्त्रीसँग छलफल गर्ने कक्षका रूपमा प्रयोग हुने तथा अन्य विशिष्ट व्यक्तिहरूसँग पनि छलफल हुन्थ्यो । सुनसरी कोठामा रहेका रक्षाबन्धन कक्षमा जनै पुर्णिमाका दिन तत्कालीन राजपरिवारका सदस्यले राजपुरोहितबाट रक्षा बन्धन, जनै फेर्नेजस्ता धार्मिक कार्य सम्पन्न हुनुका साथै सप्तरी भोजन कक्षमा विभिन्न समयमा हुने रात्रि तथा दिवा भोजका समयमा चोखो (शाकाहारी) खाना राख्ने कक्षका रूपमा पनि प्रयोग हुने गथ्र्यो ।

त्यस्तै सप्तरी कोठामा रहेको भोजन कक्षमा पूर्वमुमाबडामहारानी तथा तत्कालीन युवराजको जन्मोत्वसवका अवसरमा धनुषा बैठकमा आयोजना हुने कार्यक्रममा सहभागी हुने पाहुनाको भोजन गर्ने कक्षका रूपमा प्रयोग हुने गथ्र्यो । सिरहा कोठमामा रहेको सिरहा बैठक कक्षमा सप्तरी भोजन कक्षमा भोजको आयोजना हुँदा, खानापछि र खानाअघि बसेर छलफल गर्ने कक्षका रूपमा तथा धनुषा बैठक कक्षमा दसैंमा टिका ग्रहण, विभूषण प्रदान गर्ने कार्यक्रम र विभिन्न कार्यका लागि पनि प्रयोग हुने गथ्र्यो । त्यसैगरी पर्सा, चितवन र कपिलवस्तु पाहुना कक्ष थिए भने अंगरक्षक कक्ष पूर्वराजाको सुरक्षामा खटिएका अंगरक्षकहरू बस्ने कक्षका रूपमा प्रयोग हुने गरेको थियो ।

Facebook Comments