गुप्तेश्वर महायज्ञमा ८० लाख संकलन 

अर्जुन चौपारी गाउँ पालिका १ स्थित ठाडाखेतमा सञ्चालन भइरहेको श्री गुप्तेश्वर गुफा धार्मिक तथा सांस्कृतिक नवाह ज्ञान महायज्ञमा भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको छ । भिरकोट नगरपालिका, अर्जुन चौपारी गाउँ पालिका र पुतली बजार नगरपालिका क्षेत्रका बिभिन्न वडाहरुबाट दैनिक सयौँ भक्तजनहरूको भिड बिहान सबेरै बाट साँझसम्म देख्न सकिन्छ ।

भिरकोट नगरपालिका ७ र अर्जुन चौपारी गाउँ पालिका १ को संगममा अवस्थित गुप्तेश्वर महादेव गुफाको समग्र विकासका साथै पर्यटकीय आकर्षणका रूपमा यस क्षेत्रलाई विश्वभर चिनाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको आयोजक समितिका संयोजक मोहन अधिकारीले जानकारी दिनुभयो ।

यही मंसिर २ गतेबाट सुरु ‘श्री गुप्तेश्वर गुफा धार्मिक तथा सांस्कृतिक महा महोत्सव तथा एेतिहासिक संगितमय श्रीमद भागवत धनधान्याञ्चल विराट नवाह ज्ञान महायज्ञ – २०७५’ मा बालयोगेश्वर फाउण्डेशनका संस्थापक एवं अन्तर्राष्ट्रिय कथावाचक बालयोगेश्वर महाराजजिद्वारा दैनिक श्रीमदभागवद कथा प्रवचन, राष्ट्रिय कलाकारहरुबाट सुमधुर संगीतमय भजन किर्तन एवं झांकी प्रदर्शन, संस्कार गुरु निखिल नारायण बाट बालबालिकालाई नैतिक एवं संस्कार शिक्षा, सहस्र शालिग्राम पुजा अर्चना, तुलादान, सवालाख दिप प्रज्वलन लगायत विविध धार्मिक अनुष्ठान र सांस्कृतिक कार्यक्रम सम्पन्न हुने गरेका छन् ।

महायज्ञको आठौं दिन आज शनिबार सम्म झण्डै ८० लाख नगद एवं जिन्सी सामग्री संकलन भएको आयोजकबाट जानकारी प्राप्त भएको छ । देश तथा विदेशबाट व्यक्तिगत, सामुहिक र संस्थागत रुपमा सहयोग गर्ने सहयोग दाताहरु बढ्दै गएको आयोजक समितिका महासचिव ताराप्रसाद अर्यालले जानकारी दिनुभयो । महायज्ञ यही मंसिर ९ गते आइतबार सम्पन्न हुनेछ ।

Facebook Comments