संघ, प्रदेश र स्थानीय तहवीच समन्वय र सहकार्य हुनुपर्छ : मुख्यमन्त्री गुरुङ्ग

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्बा गुरुङले स्थानीय तह गैरकानुनी बाटोबाट चलिरहेको बताउनुभएको छ । नियम, कानुन र संविधानको मर्म विपरित स्थानीय तहले कार्यविधिहरु बनाईरहेको उल्लेख गर्दै गुरुङ्गले यस्तो आरोप लगाउनुभएको छ । नगरसभा र गाउँसभाले अनुमोदन गर्नुपर्ने कानुन प्रक्रियाविना नगरपालिका र गाउँपालिकाले बनाईरहेको उल्लेख गर्दै उहाँले नियम मिचेर गरिएको काम गैरकानुनी रहेको टिप्पणी गर्नुभयो ।

गण्डकी प्रदेशको प्रदेश समन्वय परिषद्को दोश्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङ्गले भ्रष्टाचार र अनियमितताको नियन्त्रणमा ध्यान केन्द्रित गर्न स्थानीय तहका जनप्रतिनिधिसँग आग्रह गर्नुभयो । आफुहरु स्वतन्त्र सरकार नभएको दोहो¥याउदै उहाँले स्वायत्त सरकारको हैसियतमा स्थानिय तहलाई कानुन बनाउने, बजेट बनाउने अधिकार रहेको स्पष्ट पार्नुभयो । स्थानिय तह स्वायत्त सरकार भएपनि फरक संविधान बनाउने अधिकार नभएको उहाको भनाई थियो ।

प्रदेश र संघलाई नसुनिकन स्थानीय तहले गर्ने काम निन्दनिय, खण्डनिय र आलोच्य रहेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङ्गले प्रदेश सरकारले पनि संविधानलाई नटेर्ने र केन्द्रलाई उछिनेर गर्ने काम उत्तिकै आलोचनायुक्त रहेको टिप्पणी गर्नुभयो । स्थानीय सरकार र प्रदेश सरकारलाई अलग बनाएर मुलुकको सम्वृद्धि हासिल गर्छु भन्ने सोच संघले राखे त्यो असम्भव हुने गुरुङ्गको ठहर थियो ।

यसैवीच, गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो परिषद् बैठकमा गाडी चालक, प्रहरी र प्रदेश प्रतिनिधीहरुलाई छुट्टा – छुट्टै खाना खुवाएको भन्दै बिरोध गरिएको छ । पाँचतारे होटेल ग्राण्डमा आयोजित कार्यक्रममा आयोजकको तर्फबाट खानामा विभेद भएको भन्दै बिरोध गरिएको हो । होटल व्यवस्थापनले अर्डर अनुसारको खाना तयार गरेको बताएको छ भने गण्डकी प्रदेशका प्रवक्ता मन्त्री रामशरण बस्नेतले भुलबस् दुई थरी खाना भएको स्विकार गर्नुभएको छ । मंगलबार साँझबाट नै सवैलाई एउटै थरी खाना खुवाईने उहाँले जानकारी दिनुभयो ।

Facebook Comments