गोरखा भूतपूर्व सैनिक संघ (गेसो) द्वारा तेश्रो चरणको आन्दोलन घोषणा

गोर्खा भूतपूर्व सैनिक सङ्घले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । पहिलो र दोस्रो चरणको आन्दोलनबाट गोर्खालीलाई ब्रिटिस नागरिक सरह अधिकार दिलाउन सफल गेसोले ब्रिटिस साम्राज्यवादी सरकारले नेपालको सार्वभौम सत्तामाथि अतिक्रमण गर्दै नेपाल र नेपालीहरूलाई बर्बादी बनाइरहेको ठहर गर्दै त्यसका विरुद्ध आन्दोलन गर्ने जनाएको हो ।

मंगलवार स्याङ्जाको साल्मेडाँडामा मृत गोर्खाली सैनिकहरुको सम्झनामा बन्दै गरेको समाधीस्थलमा आयोजित भेलामा वोल्दै संघका संस्थापक सभापति पदमबहादुर गुरुङले अवको चरणमा आफुहरु नेपालको राष्ट्रिय सार्वभौमसत्ता र प्रतिष्ठाका लागि लड्ने बताउनुभयो ।

अबको लडाईँ युद्धमा मारिएका पूर्व गोर्खा सैनिक र परिवारलाई क्षतिपूर्ति भराउनका लागि र सार्वभौम देशका नागरिकलाई दोस्रो देशको सैनिकजस्तो गरी संवेदनशील सेवामा लगेर तेस्रो देशबिरुद्ध लड्न पठाउन पाउने कि नपाउने भन्ने विषयमा केन्द्रित रहेको गुरुङले बताउनुभयो । पहिलो र दोस्रो विश्वयुद्धमा ६० हजारभन्दा बढी गोर्खालीहरुलाई किन मारियो त्यसको हिसाब गेसोले खोज्ने गुरुङ्गको भनाई छ ।

आन्दोलनमा नेपालका मंगोल नश्लका जातीहरुको मौलीक धर्म, संस्कार र सस्कृतिलाई ब्रिटिसले पूर्णरुपमा मारिदिएको प्रश्न पनि उठाउनेछ ।गेसोको तेश्रो चरणको आन्दोलन कुनै ब्यक्ति र जाती समुदायको सवाल नभै सबै नेपाल र नेपालीको सार्वभौम र स्वाभिमानसंग जोडिएको बिषय भएकोले सबै नेपालीहरुलाई आन्दोलनमा सहयोग गर्न गुरुङले आग्रह गर्नुभएको छ ।

Facebook Comments