समृृद्ध कर्णाली बनेमात्र समृद्ध नेपाल उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले कर्णाली समृद्ध बनेमात्र समृद्ध नेपालको नारा सफल हुने बताउनुभएको छ । प्राकृतिक स्रोत साधनले सम्पन्न कर्णाली प्रदेशलाई समृद्ध बनाउन सके नेपाल आफै समृद्ध बन्ने उहाँको भनाई छ ।

‘कर्णाली रारा पर्यटन वर्ष–२०७५’को अवसरमा कर्णाली प्रदेश सरकारको आमन्त्रणमा कर्णाली प्रदेशको भ्रमणको क्रममा मंगलबार जुम्लाको भिन्ना भिन्नै स्थानमा आयोजित कार्यक्रमलाई संबोधन गर्नुहुँदै उपराष्ट्रपति पुनले कर्णालीको समृद्धिमा जोड दिनु भएको हो । उहाँले मंगलबार विहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरु गरेको स्कूल अफ नर्सिङ अन्तर्गत स्नातक तह मिडआईफेरी कार्यक्रमको उद्घाटन गर्नुभयो ।

मंगलबार नै त्रिभुवन माध्यामिक विद्यालय झारजुवालाले सुरु गरेको आईएस्सी एजि कार्यक्रमको उद्घाटन गर्नुभयो । ‘हिजाको कर्णाली आज छैन, आजको कर्णाली भोली हुने छैन । भोलीको कर्णाली समृद्ध कर्णाली हुनेछ । किनभने यहाँ समृद्धिको अथाह स्रोत साधन छ’, उपराष्ट्रपतिले भन्नुभयो, ‘समृद्ध नेपाल, सुखी नेपाली बन्न समृद्ध कर्णाली, सुखी कर्णालीबासी हुनुपर्दछ ।’

उपराष्ट्रपति पुनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा छिटो भन्दा छिटो एमडिजिपि र एमविविएस पढाई सुरु गर्नुपर्ने बताउनुभयो । ‘स्वास्थ्य सेवा सबैको अधिकार हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानले गुणस्तरीय स्वास्थ्य सेवा दिनुका साथै शिक्षा पनि दिंदै आएको छ,’ उहाँले भन्नुभयो, ‘एमडिजिपि र एमविविएसको पढाई सुरु गर्न ढिलाई गर्नु हुँदैन म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान स्कूल अफ नर्सिङ अन्तर्गत स्नातक तह मिडआईफेरी कार्यक्रम सञ्चालन गर्ने तेस्रो संस्था बनेको छ । कार्यक्रममा कर्णाली प्रदेशका कानून तथा आन्तरिक मामिला मन्त्री नरेश भण्डारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानको सेवा उत्कृष्ट रहेको र निकट भविष्यमा एमडिजिपि कार्यक्रम सञ्चालन हुने बताउनुभयो ।

मंगलबार नै त्रिभुवन माध्यामिक विद्यालय झारजुवालाले सुरु गरेको आईएस्सी एजि कार्यक्रमको उद्घाटन समारोहलाई संबोधन गर्दै उपराष्ट्रपति पुनले जुम्लाको ईतिहास नेपालको ईतिहास, नेपालको पहिचान भएको बताउनुभयो । उहाँले जुम्ला आफू समृद्ध बन्ने, कर्णालाई समृद्ध बनाउने र समग्र राष्ट्रलाई नै समृद्ध बनाउन उच्च योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई संबोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कानून तथा आन्तरिक मामिला मन्त्री नरेश भण्डारीले कर्णाली प्रदेश समृद्ध हुन धेरै समय नलाग्ने बताउनुभयो । मुख्यमन्त्री शाहीले कर्णालीलाई पर्यटन विकासका लागि रारा कर्णाली पर्यटन वर्ष घोषणा गरेको र त्यहीं कार्यक्रम अन्तगर्त उपराष्ट्रपतिलाई आमन्त्रण गरिएको बताउनुभयो ।

उपराष्ट्रपति पुन मंगलबार साँझ मुगुको रारा पुग्नु भएको छ । ‘कर्णाली समृद्धिको आधार, पर्यटनको विकास र पूर्वाधार’ भन्ने नाराका साथ सुरु भएको रारा कर्णाली पर्यटन वर्ष कार्यक्रम प्रवद्र्धनको क्रममा उपराष्ट्रपतिलाई कर्णाली प्रदेश सरकारले आमन्त्रण गरेको हो । बुधबार उपराष्ट्रप्रति डोल्पाको फोक्सोण्डो पुगेर रिगो फोक्सोण्डो महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ ।

Facebook Comments