असिना पीडित किसानलाई पोखरा महानगरको सहयोग

पोखरा महानगरपालिकाले वडा नम्बर २० स्थित आँटीघरका असिना पीडित किसानलाई मंगलबार राहत वितरण गरेको छ । गत कात्तिक २ गते परेको असिना पानीले साविक मौजा गाविसको खुमेकाभ्रे युम्दुपाखा र बिसौनामा ८० प्रतिशत धानबाली नष्ट गरेकाले महानगरको कृषि विकास महाशाखाको राहत प्याकेज सहयोग कार्यक्रम अन्तर्गत राहत वितरण गरिएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, वडा नम्बर २० का वडाध्यक्ष सिम गुरुङ लगायतले आँटीघरमा आयोजित कार्यक्रममा २६ किसानलाई राहत वितरण गर्नुभएको हो । कार्यक्रममा प्रमुख जिसीले जनतालाई स्थानीय सरकार भएको अनुभूति दिलाउन राहत वितरणको सुरुवात गरिएको बताउनुभयो । क्षति भए अनुसार नै राहत वितरण दिन नसकेपनि थोरै मल्हम पट्टी लगाउने प्रयास महानगरले गरेको उहाँको भनाइ छ ।

उहाँले बाली नष्ट भएपछि राहत दिन भन्दा पनि किसानलाई बाली विमामा आकर्षित गर्न महानगरले योजना बनाउने बताउनुभयो । कार्यक्रममा पोखरा महानगरपालिका कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले प्रति रोपनी १ हजारको दरले किसानलाई राहत वितरण गरेको जानकारी दिनुभयो । उहाँका अनुसार २६ किसानलाई १ सय ५० रोपनीको १ लाख ५० हजार राहत वितरण गरिएको हो । रोपनी अनुसार किसानले २ हजारदेखि १० हजारसम्म राहत पाएका छन् ।

महानगरले पहिलो पटक असिना पीडित किसानलाई राहत वितरण गरेको बताउँदै उनले विमा बारे किसानलाई सचेतना जगाउन पर्ने बताउनुभयो । गत कात्तिक २ गते असिना पानीले धानबाली नष्ट गरेपछि किसानले वडा कार्यालयमा निवेदन दिएका थिए । वडाले महानगरमा राहतको लागि सिफारिस गरेपछि कृषि विकास महाशाखाले प्राविधिक खटाएर त्यसको विवरण संकलन गरी राहत वितरण गरेको थियो । वडाध्यक्ष सीम गुरुङले मौजालाई प्रांगारिक कृषि उत्पादनको पकेट क्षेत्र बनाउन र व्यवसायिक रुपमा खेती गर्ने किसानलाई वडाले पनि सहयोग गर्ने बताउनुभयो ।

किसानहरु मुक्तिराम पोखरेल, सोमनाथ पोखरेल, कृष्ण पोखरेल, चुडामणि पोख्रेल, भूमिनाथ पौडेल, रेवती पौडेल,दिलबहादुर विक,बलबहादुर परियार, गोबीरास परियार, गोपाल परियार, नवराज गुरुङ, नवराज पौडेल, देवीकुमारी गुरुङलाई राहत वितरण गरिएको हो । वीरकराज परियार, हुमबहादुर परियार, तिलबहादुर परियार, धनबहादुर गुरुङ, नन्द्रबहादुर गुरुङ, चक्रबहादुर गुरुङ, धनबहादुर गुरुङ, दुर्गा गुरुङ, विष्णुबहादुर गुरुङ, धनबहादुर गुरुङ, चम्पासिंह गुरुङ, डम्बरबहादुर गुरुङ, आशबहादुर विकलाई राहत वितरण गरिएको हो ।

Facebook Comments