लायन्स क्बल अन्नपुर्णद्वारा मट्टीखानका शिवलाई आर्थिक सहयोग

घनश्याम पाण्डेय

लायन्स क्बल अफ पोखरा अन्नपुर्णले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा उपचाररत मट्टीखानका शिव भुजेललाई आर्थिक सहयोग गरेको छ । खुट्टामा घाउ भएर अस्पताल आएका भुजेलको एउटा खुट्टा घुडाबाटै काटिएको छ । पहिलेदेखिनै खुट्टामा समस्या भएका भुजेल ढिलो गरि अस्पताल आएकोले खुट्टाको तल्लो भाग काटनुपरेको चिकित्सकको भनाई छ ।

सर्जिकल वार्डमा रहेका भुजेललाई लायन्स क्वल अफ पोखरा अन्नपुर्णका निबर्तमान अध्यक्ष अर्जुन पोखरेल र क्लबका अध्यक्ष दिनेश तुलाचनले सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । क्लबका पुर्व अध्यक्ष सोनाम साङपोको पलहमा सिक्युयु युनिभर्सिटी अष्टेलियाका भोलेन्टियरहरुबाट संकलित ३० हजार र क्लबको तर्फबाट २१ हजार गरि ५१ हजार सहयोग प्रदान गरिएको हो ।

मंगलबार क्लवका तर्फबाट २१ हजार सहयोग प्रदान गरिएको छ भने अष्ट्रेलियाका भोलेन्टियर विद्यार्थीहरुको तर्फबाट बुधबार नगद ३० हजार सहयोग हस्तान्तरण गरिने क्लवका अध्यक्ष दिनेश तुलाचनले जानकारी दिनुभयो । आर्थिक अबस्था कमजोर रहेको र उपचारमा समस्या भएकाले भुजेललाई आर्थिक सहयोग गरेको क्लवले जनाएको छ ।

Facebook Comments