स्याङजाको स्वरेकसम्मको यात्रा सहज बन्दै, कार र ट्याक्सीमा यात्रा गर्न सकिने

स्याङजाको पर्यटकीय ठाउँ स्वरेक पुग्ने जोकोहीले पनि पहिले पहिले भन्ने गर्थे स्वरेकको ठाउँ राम्रो तर बाटो नराम्रो । तर अहिले भीरकोट नगरपालिकाको स्वरेक जाने बाटो कच्चीसडक भएपनि राम्रो र सजिलो भएको छ । प्याराग्लाइडिङको विश्वकप नै स्वरेक मैदानमा सम्पन्न हुने बेला स्थानीय तहले बाटोको मर्मत सम्भार गरेपछि स्वेरकसम्म जानेबाटो सहज बनेको छ ।

बाटो सजिलो भएसंगै पोखरादेखि स्वरेक घुम्नजानेको संख्यामा समेत बृद्धि भएको छ । बयरघारी बजारदेखि ९ किलोमिटर पश्चितर्फको कच्ची सडकको यात्रा पछि स्वरेक मैदान पुग्न सकिन्छ । वालिङबाट पनि स्वरेक पुग्न सकिने भए पनि बयरघारी सुन्दरबजार स्वरेक भञ्ज्याङ महापुर हुदै मैदान पुग्नेबाटो अहिले सजिलो भएको छ ।

स्वरेक मैदान पुग्नु भएका गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले स्वरेकको बाटो संरक्षणको लागि बाटोमा नालीनिर्माण गर्न सुझाब दिनुभयो । सरकारले सय पर्यटकीय गन्तव्यमध्ये स्वरेक मैदान पनि परेकाले पर्यटकीय गतिविधिको लागि पनि मास्टर प्लान गराएर कामगर्नुपर्ने बताउनुभयो ।

स्वरेक आन्तरिक पर्यटक बढेसंगै स्थानीयले घरबास पर्यटन(होमस्टे )मा पनि ध्यान दिन थालेका छन् । यसैवीच स्वरेक पाण्डे गाउँका स्थानीय शोभाकान्त पाण्डेले स्थानीय परिकार सहित १२ जनासम्म राख्न मिल्ने गरि निजी घरबास(होमस्टे) सञ्चालन गर्नुभएको छ । पाण्डेले छिट्टै प्याकेज निर्माण गरेर सर्वसुलभ मुल्यमा पाहुनाहरुको स्वरेकमा स्वागत गर्ने बताउनुभयो । स्याङजाको स्वरेक मैदानबाट हिमश्रृंखलाको अवलोकनका साथै प्याराग्लाइडिङ गर्न सकिन्छ ।

Facebook Comments