पोखरा–१३ मा सिटिजन्स स्मार्ट कार्ड वितरण गरिने

पोखरा महानगरपालिका–वडा नं १३ ले वडावासीका लागि सिटिजन्स स्मार्ट कार्ड वितरण गरेको छ । उक्त वडा कार्यालयद्धारा बुधबार आयोजित पत्रकार सम्मेलनमा वडाका शोभाकान्त सिग्देललाई पहिलो पटक स्मार्ट कार्ड प्रदान गरी वितरण शुरु गरिएको हो । वडा अध्यक्ष लेखबहादुर तामाङले सिग्देललाई स्मार्ट कार्ड प्रदान गर्नुभएको हो ।

वडाभित्रको संपूर्ण विवरण राख्न स्मार्ट कार्डको अवधारणा ल्याइएको वडा अध्यक्ष लामाले जानकारी दिनुभयो । वडाभित्र स्मार्ट कार्ड लागु भएपछि सेवाग्राहीले स्थानीय ऐनले निर्देश गरेका ६४ वटा सेवाहरु पाउनेछन् । संभवत स्थानीय तहमै पहिलो पटक आफ्नो अनलाइन स्मार्ट कार्डको व्यवस्था गरिएको लामाले दावी गर्नुभयो ।

स्मार्ट डिजिटल्स कार्डबाट वडाभित्रका एउटा सेवाग्राहीको परिचयसहित परिवार र उसको सम्पत्ति लगायतका संपूर्ण विवरणहरु उक्त कार्डमा समावेश गरिने वडा अध्यक्ष लामाले उल्लेख गर्नुभयो । यस प्रविधिले वडाभित्रको विकासको संभावना, समस्या, जनशक्ति, बालबालिकाहरुको स्थिति, कृषियोग्य जमिन तथा उत्पादन, शैक्षिक स्थिति र पर्यटकीय स्थल लगायतको संपूर्ण अध्ययन गर्न वडालाई सहयोग पुर्याउने अध्यक्ष लामाको भनाई थियो ।

वडाभित्र हाल ४ हजार घरधुरी रहेको अनुमान छ । ०६८ को जनगणनाअनुसार वडामा १७ हजार ७७ जनसंख्या रहेको लामाले जानकारी दिनुभयो । स्मार्ट कार्ड क्यु आर सिस्टममा बनेको हुन्छ । स्मार्ट कार्डमा व्यक्तिको संपूर्ण विवरण संग्रहित गरेर राखिन्छ । स्मार्ट कार्डमा क्युआर कोड राखिन्छ । कुनै सेवाग्राही सेवा लिन आएपछि उसको स्मार्ट कार्डको क्यु आर कोड स्क्र्याच गरेर कम्प्युटर सफ्टवयरमा रहेको फम्र्याटअनुसार उसको प्रोफाइलमा पुर्याइन्छ । प्रोफाइलमा रहेको आवश्यक विवरण र निवेदनका आधारमा सेवाग्राहीलाई सेवा प्रवाह गरिन्छ ।

दुई महिनाभित्र वडाभित्रको सबै नागरिकलाई स्मार्ट कार्ड वितरण गरिसक्ने योजना वडा कार्यालयको रहेको छ। वडाले एक पटक सर्भे गरिसकेपछि सबै विवरण संग्रहित गरिन्छ । कुनै सेवाग्राही सेवा लिन महानगरपालिका पुगेपनि वडालाई उसको विवरणबारे अनुरोध गर्छ । स्मार्ट कार्डका लागि पोखराको मालिका सफ्टवेयर नेपाल प्रा.लि.को प्राविधिक सहयोग रहेको छ । प्रा.लि.का प्रवन्ध संचालक सुरेश गिरीले स्मार्ट कार्डको पाँच वर्ष वारेन्टी रहेको जानकारी दिनुभयो । स्मार्ट कार्डमा व्यक्तिले दिएको जति व्यक्तिगत र पारिवारीक दुई किसिमको विवरण रहने छ ।

गिरीका अनुसार व्यक्तिगतमा उसको व्यक्तिगत विवरण र पारिवारीक विवरणमा संपूर्ण परिवारको विवरण लगायत सम्पत्ति र अन्य विवरणहरु समेत संग्रहित हुन्छन् । जो कसैले मागेको आवश्यक सबै विवरण दिनैपर्ने वाध्यात्मक स्थिति स्मार्ट कार्डमा हुन्छ । स्मार्ट कार्डलाई नागरिकले स्वेच्छामा लिन सक्ने वडा कार्यालयले जनाएको छ ।

Facebook Comments