निजी आवासको पुनर्निर्माण आ.व.०७५/७६ भित्र सकिने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चालू अर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । संघीय संसदको विकास समितिको आज बसेको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अनुदान सम्झौता गरेका मध्ये ७७ प्रतिशत अर्थात ७ लाख २७ हजार १ सय २३ को संख्यामा निजी आवास पुनर्निर्माण भएको र त्यसमध्ये ४३ प्रतिशतले निर्माण सम्पन्न गरेको जानकारी दिनुभयो ।

उहाँले गुनासो सुनुवाई, एकीकृत बस्ती, परम्परागत बस्ती, बस्ती स्थानान्तरण र जोखिममा परेका वर्गको घर निर्माणको समयावधि भने कार्यकारी समितिले निर्धारण गरे अनुसार हुने बताउनुभयो । अनुदान लिएर अहिलेसम्म घर पुनर्निर्माण नगरेकालाई घर पुनर्निर्माण गर्न आग्रह गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले झुठा विवरण पेश गरी अनुदान लिएको भए पुस मसान्तभित्र फिर्ता गर्न आग्रह गर्नुभयो ।

शिक्षा, स्वास्थ्य, सरकारी भवन, सुरक्षा निकायका भवन, सम्पदा पुनर्निर्माणमा भएको प्रगति विवरण पेश गर्दै उहाँले प्राधिकरणको बाँकी अवधि दुई वर्षमा पुनर्निर्माणका सबै काम सम्पन्न हुने बताउनुभयो । बैठकमा प्राधिकरणका सचिव अर्जुन कुमार कार्कीले पहिला छुट भएका वास्तविक भूकम्प पीडितको पहिचान गर्न समस्या नरहेको उल्लेख गर्दै स्थानीय तहबाट प्रमाणीत भएर आए भूकम्प पीडितले अनुदान पाउन सक्ने बताउनुभयो ।

Facebook Comments