देश आर्थिक विकास र समृद्धिको नयाँ चरणमा : प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा सम्पन्न शान्ति प्रक्रिया विश्वका लागि नयाँ प्रयोग भएको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शले भृकुटीमण्डपमा आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–१८’ को शुभारम्भ गर्दै प्रचण्डले उक्त कुरा बताउनुभएको हो ।

राजनीतिक क्रान्ति सम्पन्न भएपछि देश अहिले आर्थिक विकास र समृद्धिको नयाँ चरणमा पुगेको प्रचण्डले बताउनुभयो । अध्यक्ष प्रचण्डले जनताको सङ्घर्षबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै जनताको चाहनाअनुसारको संविधानले निर्दिष्ट गरेका तीन तहको निर्वाचन पूरा भई बनेका सरकारले मुलुकको विकास, समृद्धि र स्थिरता कायम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

देश विकासका लागि उत्पादन वृद्धि गरी निर्यातमा जोड दिनुपर्ने उल्लेख गर्दै प्रचण्डले आर्थिक प्रगति र समृद्धिका लागि स्थिरता आवश्यक हुने र स्थायित्वले सिर्जनशील वातावरण निर्माण गर्ने दावी गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डले बीसौँ शताब्दीमा वैदेशिक लगानीको विषय जटिल बनेको बताउँदै विश्वव्यापीकरणका कारण अहिले सो विषय सहज बन्दै गएको धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रको आर्थिक विकास र समृद्धिका लागि पूर्वाधार विकास तथा कृषि, पर्यटनका क्षेत्रमा वैदेशिक लगानी वृद्धि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष प्रचण्डले एक्स्पोले व्यापारका क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै म्यान्मारका स्टेट काउन्सिलर आङसाङ सुकीको उपस्थितिले आर्थिक विकासका लागि राम्रो सन्देश दिएको विचार व्यक्त गर्नुभयो । एक्स्पोमा नेपाल, भारत, चीन, बङ्गलादेश, म्यान्मा, दक्षिण कोरिया, जापान, मलेसियालगायत मुलुकको बिक्री कक्ष राखिएको छ ।

Facebook Comments