सफल एक्स्पो पोखरा तथा तेस्रो मोवाइल मेला २०७५ शुरु

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरामा बिहीबारबाट सफल एक्स्पो पोखरा तथा तेस्रो मोवाइल मेला २०७५ सुरु भएको छ । एक्स्पो नयाँबजारको प्रदर्शनी केन्द्रमा मंसिर २४ गतेसम्म जारी रहने छ । उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सृजना गर्न एक्स्पोको आयोजना गरिएको आयोजकले जनाएको छ ।

यसैगरी, पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पुर्याउनु तथा गण्डकी प्रदेश र पोखराको ब्यवसाय बिस्तारको संभावनाको खोजी गरी प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्न पनि मेलाको आयोजना गरिएको हो ।

एक्स्पोमा पोखरा औद्योगिक क्षेत्रका उद्योगहरुका उत्पादन, मोवाइल र मोवाइलका सामानहरु, पर्यटन प्रवर्धनात्मक स्टल, मेड इन नेपाल पेभेलियन, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्पादन, दैनिक उपभोग्य खाद्यबस्तु र लत्ताकपडा, पुष्प प्रदर्शनी,हस्तकलाका सामाग्री, अटो प्रदर्शनी, महिलाहरुका उत्पादनहरु, रेष्टुरेण्टहरुसहित ३ सय प्रदर्शनी कक्षहरु राखिएका छन् ।

समुद्घाटन सत्रको अगाडि संघको सचिवालयदेखि प्रदर्शनी स्थलसम्म प्रभातफेरीको आयोजना गरिएको थियो । प्रभातफेरीमा उद्योगी–व्यवसायीहरु सहित ५८ वटा आमा समूहको सहभागिता रहेको थियो । मेलाको दोस्रो दिन शुक्रबारबाट विद्यालयस्तरीय एकल र सामूहिक नृत्य प्रतियोगिता, लोकगीत प्रतियोगिता, लोपोन्मुख साँस्कृतिक कार्यक्रमका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना हुने आयोजक पोखरा उद्योग वाणिज्य संघले जनाएको छ ।

Facebook Comments