एशिया प्यासिफिक समिट हुँदै, म्यानमारकी नेतृ ङ साङसुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौंमा

नोबेल शान्ति पुरस्कार विजेता म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी एशिया प्यासिफिक समिटमा भाग लिनका लागि नेपाल आउनुभएको छ । सुकीको यो भ्रमण औपचारिक नेपाल भ्रमण समेत रहेकोले सरकारको तर्फबाट नै भ्रमणको सम्पूर्ण व्यवस्थापन गरिएको छ । सरकारले सुकीको बस्ने व्यवस्था होटल सोल्टीमा मिलाएको छ ।

आज अपरान्ह नेपाल आए लगत्तै सुकीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गर्नुभएको थियो । सुकीलाई विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । नेपाल बसाईको क्रममा नेतृ सुकीले राष्ट्रपति, प्रधानमन्त्री लगायत राजनीतिक दलहका शीर्ष नेताहरुसँग भेटवार्ता समेत गर्नुहुनेछ ।

पछिल्लो समय म्यानमारमा रोहिंग्या समुदाय माथि भएको हिंसामा चुप रहेको विषयमा नेतृ सुकीको विश्वभर नै आलोचना भइरहेको छ । म्यान्मारमा भएको २०१५ को चुनावमा उहाको पार्टी नेशनल लिग फर डेमोक्रेसीले भारी बहुमत प्राप्त गर्दै विजयी भएसँगै त्यहाँ सैनिक शासनको अन्त्य भएको थियो । सुकीको श्रीमान विदेशी भएकाले राष्ट्रपति बन्न नमिल्ने संवैधानिक बाधा पछि उहाँ राष्ट्रिय सल्लाकारको भुमिकामा रहदै आउनुभएको छ ।

कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौंमा 

कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आउनुभएको छ । एशिया प्यासिफिक समिटमा भाग लिनका लागि उहाँ नेपाल विहीवार नेपाल आउनुभएको हो । यो हुन सेनको औपचारिक नेपाल भ्रमण समेत रहेकोले सरकारको तर्फबाट नै उहाँको भ्रमण व्यवस्थापन गरिएको जनाइएकोे छ ।

हुन सेनलाई स्वागत गर्न नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल विमानस्थल जानुभउको थियो । सो अवसरमा हुन सेनलाई विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

नेपालमा रहँदा कम्बोडियाका हुन सेनले राष्ट्रपति, प्रधानमन्त्री लगायत राजनीतिक दलका नेताहरसँग भेटवार्ता समेत गर्ने बताईएको छ । हुन सेन सन् १९८५ देखि क्याम्बोडियाका प्रधानमन्त्री हुनुहुनछ । ३२ वर्षको उमेर प्रधानमन्त्री बन्नुभएका उहाँ विश्वमै सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहेर काम गर्ने नेता हुनुहुन्छ ।

Facebook Comments