दक्षिण कोरियाली रेल एक दशकपछि पहिलोपटक उत्तर कोरियाली सीमाक्षेत्रमा प्रवेश

उत्तर र दक्षिण कोरियाबीच रेलसेवा पुनः सन्चालन गर्नेगरी संयुक्त सर्वेक्षण गर्न दक्षिण कोरियाका इन्जिनियर र अन्य अधिकृतहरु उत्तर कोरिया पुगेका छन् । यसै वर्षको सुरुमा रेलसेवा पुनःस्थापना गर्न दुवै कोरियाबीच सम्झौता भएको थियो । दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएका उच्चस्तरीय भेटवार्तामा रेलसेवा पुनःस्थापना गर्ने सहमति भएको थियो । दक्षिण कोरियाली इन्जिनियर बोकेको एउटा रेल एक दशकपछि पहिलोपटक उत्तर कोरियाली सीमाक्षेत्रमा प्रवेश गरेको छ ।

रेलको अघिल्तिर राखिएको ब्यानरमा ‘शान्ति र समृद्धिको युगमा प्रवेशका लागि ‘आइरन हर्स’ उत्तरतर्फ लाग्यो’ लेखिएको छ । ‘यसले रेलसेवा पुनःस्थापनामार्फत् उत्तर र दक्षिण कोरियाको संयुक्त समृद्धिको सुरुआतको संकेत गरेको दक्षिण कोरियाका यातायातमन्त्री किम ह्यून–मीको भनाई रहेको छ । उहाँले रेलसेवा पुनः जोडिँदा यसले मुलुकको आर्थिक क्षेत्र युरेसियासम्म जमिनबाटै जोड्न मद्दत गर्ने बताउनुभयो ।

६ ओटा डब्बा भएको यो रेलमा इन्जिनियर र अन्य अधिकारीसमेत २८ जना दक्षिण कोरियालीहरु रहेका छन् । दक्षिण कोरियाली र उनीहरुका उत्तर कोरियाली साथीहरुले १८ दिन लगाएर रेललाइनको अध्ययन र अवलोकन गर्नेछन् । उनीहरुले उत्तर कोरियाको सबैभन्दा दक्षिणमा रहेको काइसोङ सहरदेखि चीनको सीमासम्म रहेको सिनुइजु सहरसम्म तथा माउन्ट कुमगाङदेखि पूर्वमा रसियासँग सीमा जोडिएको टुमेन सहरसम्मको रेललाइनको निरीक्षण गर्ने बताइएको छ ।

सन् १९४८ मा कोरियाली प्रायद्वीपको विभाजन हुनुअघि उत्तर र दक्षिण कोरिया जोड्ने दुईओटा रेललाइन थिए । दुवै देशबीचको समझदारी बढाउने उद्देश्यले सन् २००७ मा पश्चिमी रेललाइनलाई पुनः सन्चालन गरिएको थियो । दक्षिण कोरियाले उत्तर कोरियासँगको रेलसेवा पुनः सुरु गर्नेसम्बन्धी कार्यक्रम सन्चालन गर्न अर्को वर्षका लागि करिब पाँच करोड ६६ लाख अमेरिकी डलर बजेट व्यवस्था गरेको छ । यो रेलसेवा मर्मत गरी पूर्णरुपमा सन्चालन गर्न करिब पाँच वर्ष लाग्नेछ ।

Facebook Comments