सफल एक्सपो पोखरामा लोपोन्मुख सँस्कृतिको प्रदर्शन

पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला– २०७५’ नेपाली मौलिक संस्कृति प्रदर्शन गरिएको छ । नेपालमा रहेका विभिन्न जात जातिका मौलिक संस्कृतिको संरक्षण गर्ने उदेश्यले एक्सपोमा बालन, घाँटु, लाखे नाच, कृष्ण चरित्र र रत्यौली समावेश गरिएको साँस्कृतिक उपसमितिका संयोजक तथा संघका कार्यसमिति सदस्य केशवबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रबार एक्स्पोमा लमजुङको पसगाउँको घाँटु नाच प्रदर्शन गरियो भने शनिबार नेवारी सँस्कृतिसँग जोडिएको लाखे नाच देखाइने छ । आयोजकका अनुसार रत्यौली, विद्यालयस्तरीय एकल र सामूहिक नृत्य, लोकदोहारी प्रतियोगिता शुक्रबारबाट नै सुरु भएको छ ।

शनिबार लोकदोहोरी गायकहरु बसन्त थापा, चोलेन्द्र पौडेल, तारापति सुवेदी, घनश्याम रिजाल, सरस्वती लामिछाने, राजन कार्की, अमर धिताल, सरला पाण्डे, प्रेमराज अधिकारी, कल्पना आले, जुना क्षेत्रीको प्रस्तुति रहनेछ भने हास्य प्रहसनतर्फ पोखरेली माग्ने बूढा र धुर्मुसले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछन् ।

पप तथा आधुनिक गीततर्फ माण्डवी त्रिपाठीको दमदार प्रस्तुति रहनेछ । लोकदोहोरी प्रतियोगिताको विजेताले ५१ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार प्राप्त गर्नेले क्रमशः ३१, २१ र ११ हजार प्राप्त गर्नेछन् । लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नाराका साथ आयोजना भएको सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला आउँदो मंसिर २४ गतेसम्म जारी रहनेछ ।

मेला र महोत्सवमार्फत अर्थतन्त्र चलायमान बनाउन एवं उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सृजना गर्न एक्सपो आयोजना गरिएको हो । एक्सपोमा पोखरा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुका उत्पादन, मेड इन नेपाल पेभेलियन, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, दैनिक उपभोग्य खाद्यबस्तु र लत्ताकपडा, पुष्प ,हस्तकलाका सामाग्री, अटो महिला उद्यमीका उत्पादनलगायतका ३ सयवटा स्टलहरु रहेका छन् ।

यता,मोवाइल मेलाअन्तर्गत एक्सपोमा १२ वटा विभिन्न ब्राण्डका मोवाइलका स्टलहरु रहेका छन् । ती स्टलहरुबाट विशेष छुटमा मोवाइल फोन र आवश्यक एसोसरिजहरुको बिक्री बितरण तथा साँटफेरको व्यवस्था पनि गरिएको छ ।

Facebook Comments