वर्ड क्याम्प पोखरा २०१८ भव्यताका साथ सम्पन्न

वर्डप्रेस सम्बन्धि सेमिनार कार्यक्रम ‘वर्ड क्याम्प पोखरा २०१८’ सम्पन्न भएको छ । वर्डप्रेस पोखराको आयोजनामा शनिबार पोखराको बिरौटा स्थित होटल पोखरा ग्रान्डमा वर्ड क्याम्प २०१८ गरिएको हो । वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो ।

नेपालमा भने सन् २०१२ देखि नेपालका वर्डप्रेस प्रयोगकर्ता तथा सफ्टवेयर विकासकर्ताहरुको समूहले वर्ड क्याम्प गर्दै आएको छ । यसअघि काठमाण्डौंमा आयोजना हुने गरेकामा पहिलोपटक पर्यटकीय शहर पोखरामा कार्यक्रम गर्न लागेको हो । आगामि दिनमा पनि विराटनगर, काठमाण्डौं लगायतका शहरमा यो कार्यक्रम गर्न लागिएको छ ।

उक्त क्याम्पमा राष्ट्रिय अन्र्तराष्ट्रिय गरी १७ जनाले सहजीकरण गरेका थिए । कार्यत्रममा गुगल सर्च क्वालिटी टिमकै विज्ञ आशेश मरिनाले ‘म्यानेजिंग योर अनलाइन प्रिजेन्स अन गुगल सर्च’ विषयमा र अभिषेक देशपाण्डेले ‘मोर्डन वर्डप्रेस डेभलपमेन्ट इन्भारमेन्ट’ विषयमा सहजीकरण गरेका थिए ।

जापानका ताकायुकी मियाउचीले ‘उइ लभ अटोमेसन स् एण्ड इन्टोक्सन टु डब्लु पी सिएलआइ’ विषयमा र बंगलादेशका मिजानुर रहमन मिजानले ‘कन्ट्रिबियुट टु दी वडप्रेस रिप्रोजेटरी इन अ स्मार्ट वय’ शीर्षकमा सहजीकरण गरेका थिए । कार्यक्रममा ४०० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

वर्डप्रेस निशुल्क रुपमा पाइने बहुचर्चित ओपन सोर्स सफ्टवेयर भएको र यसलाई सजिलैसँग सिक्न सकिने भएकोले यसको प्रयोग गुणात्मक रुपमा वृद्धि भइरहेको छ । विश्वमा निर्माण हुने वेभसाइटहरुको ३० प्रतिशतभन्दा बढी वेबसाईटहरु वर्डप्रेस प्रयोग गरी बनाइने एक सर्वेक्षणमा उल्लेख छ ।

त्यस्तै विश्वमा प्रयोग गरिने कन्टेन्ट म्यानेजमेन्ट सिस्टमहरुको ६० प्रतिशतभन्दा बढी हिस्सा वर्डप्रेसले ओगटेको छ । वर्डप्रेस सामान्य र व्यक्तिगत ब्लग लेख्नेदेखि ठूला समाचारमूलक वेवसाइट, इ कमर्श वेवसाइट, कम्पनीका वेबसाइट, सरकारी तथा गैर सरकारी संघ संस्थाका वेबसाइट आदि बनाउन प्रख्यात रहँदै आएको छ ।

Facebook Comments