नैतिक मुल्य मान्यता र संस्कृतिमा प्रतिबद्ध छौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले अरुको संस्कृति र मूल्य मान्यतालाई अंगीकार नगर्ने बताउनुभएको छ । क्रिश्चियन धर्म प्रचारक संस्थाले आयोजना गरेको एशिया प्यासिफिक समिटमा प्रधानमन्त्री ओलीले पूर्वज ऋषिमुनिबाट धेरै कुरा सिक्न सकिने भन्दै नैतिक रुपमा आत्मसमर्पण नगरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

समाजको केही हिस्साले भौतिक वस्तुको अभाव अझै पनि भोगिरहेको तर, यसको अर्थ नैतिकरुपमा नै आत्मसमर्पण गर्ने वा अरुको संस्कृति र मूल्य मान्यतालाई नक्कल गर्न आतुर रहनु नभएको उहाँले स्पष्ट पार्नुभयो । सम्वोधनका क्रममा प्रधानमन्त्री ओलीले हिमालयमा अवस्थित प्राचीन शहरले पूर्वज ऋषिमुनिको ज्ञानको माध्यमबाट हाम्रा सन्ततिको जीवनलाई कसरी उज्ज्वल बनाउने भन्ने बारेमा धेरै सिकाउन सक्ने धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले नेपालको संस्कृति, परम्परा र इतिहासमा नेपालीलाई गर्व रहेको भन्दै विश्वलाई शान्ति, मित्रता र भातृत्वको विकासका लागि आवश्यक मूल्य र मान्यता प्रदान गर्न सक्ने क्षमता रहेको बताउनुभयो ।

यसैबीच, एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर कम्बोडियाका प्रधानमन्त्री हुन सेन आज स्वदेश फर्किनुभएको छ । उहाँलाई उपप्रधानमन्त्री ईश्वर पोखरेल र कानून, न्याय तथा संसदीय मामिला व्यवस्थामन्त्री भानुभक्त ढकालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरेका हुन् । सम्मेलनमा भाग लिन सेन १३ गते काठमाडौं आउनुभएको थियो ।

Facebook Comments