अरुणोदय माविका १८० विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

तनहुँको भिमाद नगरपालिका वडा नं. २ जिलाङ, फुलवारीमा अरुणोदय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको आयोजना तथा वान हुवा जेन्सिन एजुकेशन फाउण्डेशन ताइवान र हुई ग्वाङ मोरल स्टडी सेन्टर सिङ्गापुरको सहकार्यमा विद्यार्थीहरुलाई न्यानो कपडा (स्विटर) वितरण गरेको छ ।
समुन्द्र सतहबाट उचाईमा रहेको उक्त विद्यालयमा हिउँदको जाडोमा विद्यार्थी चिसोले कठाङ्ग्रीदै पढ्न वाध्य भएकोले न्यानो नर्सरीदेखि कक्षा १० सम्मका १८० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनका अध्यक्ष कृष्णबहादुर रानाभाटले जानकारी दिनुभयो ।
कार्यक्रममा वान हुवा जेन्सिन एजुकेशन फाउण्डेशन ताइवान र हुई ग्वाङ मोरल स्टडी सेन्टर सिङ्गापुरका नेपाल प्रतिनिधि यामबहादुर गुरुङले आफ्नो संस्थालाई विद्यार्थीहरुलाई न्यानो कपडा वितरण कार्यक्रममा सहकार्य गर्ने अवसर प्रदान गरेकोमा विद्यालय र क्लबलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
विद्यालयको तर्फबाट सहयोगी संस्था लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनका अध्यक्ष कृष्णबहादुर रानाभाट र वान हुवा जेन्सिन एजुकेशन फाउण्डेशन ताइवान र हुई ग्वाङ मोरल स्टडी सेन्टर सिङ्गापुरका नेपाल प्रतिनिधि यामबहादुर गुरुङलाई प्रशंषापत्र प्रदान गरिएको थियो ।