पोखरामा ग्रेट हिमालयन महोत्सव २०१८ हुने

पोखरामा पाचौं अन्तर्राष्ट्रिय पर्वतीय ग्रेट हिमालयन महोत्सव २०१८ हुने भएको छ । नेपाल पर्वतारोहण संघको आयोजनामा डिसेम्बर १० देखि १२ सम्म महोत्सव गर्न लागिएको हो । सन् २०१४ मा संयुक्त राष्ट्रसंघले डिसम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस घोषणा गरेपछि नेपाल पर्वतारोहण संघले पनि पर्वतीय महोत्सव आयोजना गर्दै आएको छ ।

पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय परिसरमा विगत ५ बर्षदेखि मनाईंदै आएको पर्वतीय महोत्सवमा गुरुङ, मगर, राई, लिम्बु, शेर्पा, थकाली, तामाङ लगायतका जाति समुदायको परम्परागत साँस्कृतिक प्रस्तुति, झाँकीहरु प्रदर्शन गर्नुका साथै खेल पर्यटनको विकास गर्ने उद्देश्यका साथ ४५ किमीको अल्ट्रा म्याराथन समावेश गरिएको छ ।

जसलाई एन.एम.ए बैकुण्ठ मानन्धर हिमालयन म्याराथन नाम दिइएको छ । म्याराथन विजेताले एक लाख, उपविजेताले पचास हजार, तेस्रो हुनेले पच्चीस हजार पुरस्कार प्राप्त गर्ने र महिलालाई हाफ म्याराथनमा प्रतिस्पर्धा गर्न सक्ने स.घका अध्यक्ष सन्तबीर लामाले जानकारी दिनुभयो । यसपटक पोखराका पर्यटन सम्बद्ध संघ संस्थालाई समेट्ने प्रयास गरिएको, पर्यटन बोर्डको सहकार्य रहेको तथा भिजिट नेपाल २०२० लाई समेत सहयोग पुग्ने हिसावले पर्वतीय महोत्सव आयोजना गरिएको उहाँको भनाई छ ।

महोत्सव स्थलमा ४० वटा स्टल रहने र स्टलहरु निशुल्क उपलब्ध गराइने संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिनुभयो । यसका साथै हिमालयन साइक्लिङ, टोनी हेगन टुरिजम पेन्टिङ, तारो हान्ने र छेलो हान्ने, बोल्डरिङ क्लाइम्बिङ समावेश गरिएको छ । उहाँका अनुसार प्रसिद्ध हिमाल आरोहण गर्नेलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।

महोत्सवको ५० हजार भन्दा बढीले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ । विगतका बर्षमा महोत्सव खासै प्रभावकारी नभएको सञ्चारकर्मीको जिज्ञासामा यसपटक अलिक बृहत बनाउने र केही नयाँ इभेन्टहरु समावेश गर्न लागिएको आयोजकको भनाई छ ।

Facebook Comments