घुस रकम सहित स्वास्थ्य निर्देशक पक्राउ

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा. तारानाथ पौडेल १ लाख रुपैयाँ घुससहित पक्राउ पर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले पौडेललाई घुस लिएको रकमसहित पक्राउ गरेको हो । लोकसेवा आयोगमा परीक्षा दिएका परीक्षार्थीलाई पास गराईदिने आश्वासन दिएर उक्त रकम लिएको अख्तियार श्रोतले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार पौडेलमाथि मुद्धाको प्रक्रिया शुरु भैसकेको छ । प्रदेश सरकार गठन भएपछि यसअघि रहेको पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयलाई गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय बनाइएको हो । त्यतिबेला क्षेत्रका निर्देशक पौडेल नै प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशक बन्नुभएको थियो ।

Facebook Comments