सरकारले बिजनेस दिन सकेन : राष्ट्रिय सभा उपाध्यक्ष दाहाल

राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहालले सरकारले ‘बिजनेस’ नदिँदा सदनको काम कारबाही अघि बढ्न नसकेको बताउनुभएको छ । पोखरामा आइतबार संचारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष दाहालले सरकारले आवश्यक बिजनेस नदिँदा सदनको काम कारबाही अघि नबढेको गुनासो गर्नुभयो । उहाँले राष्ट्रिय सभाका विभिन्न १६ वटा विषयगत समितिले आ–आफ्नो ढंगले काम गरे पनि हाउस नचल्दा आवश्यक कानून निर्माणमा ढिलाइ हुन गएको बताउनुभएको हो ।

हालसम्म कति वटा कानुन बनिसके भन्ने संचारकर्मीको जिज्ञासामा दाहालले २२ वटा कानुन बनेको र बाँकी एक सय भन्दा बढी कानून बन्ने प्रक्रियामा रहेको जानकारी दिनुभयो । पुरानो संरचनाको ढर्रा अहिलेपनि कायम रहँदा वाम सरकारले सोचे अनुरुप काम गर्न नसकेको हो कि भन्ने आफूलाई महसुस भएको भन्दै उहाँले सरकारको काम कारबाहीको बचाऊ समेत गर्नुभयो ।

उपाध्यक्ष दाहालले निर्मला पन्त हत्याकाण्डमा सरकारले दोषीलाई कानूनी कठघरामा ल्याई छाड्नुपर्ने र पीडितलाई न्याय दिलाउन कुनै कसर बाँकी राख्न नहुने जोड दिनुभएको छ । यसैबीच, संघीय संरचनाको विषयमा बोल्दै दाहालले संघीयता नराम्रो भन्ने बिषय अफवाहमात्र रहेको ठहर गर्नुभयो । सिंहदरबारको अधिकार गाउँ गाउँमा आएको र घरदैलोबाटै सेवा सुविधा मिल्दा जनता झनै खुसी हुनुपर्ने उहाँको भनाइ थियो ।

Facebook Comments