नेपाल–बंगलादेश ऊर्जा संयन्त्रको बैठक काठमाडौंमा जारी

नेपाल र बंगलादेशबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक सोमवारदेखि काठमाडौंमा सुरु भएको छ । बंगलादेशसँग ऊर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएयता संयन्त्रको पहिलो बैठक बसेको हो । बैठक सोमबार र मंगलबार दुई दिन चल्नेछ ।

नेपाल–बंगलादेशबीचको ज्वाइन्ट इनर्जी स्टेरिङ कमिटीको बैठकमा बंगलादेशको नेतृत्व पावर मन्त्रालयका पावर डिभिजन हेर्ने सचिव अहमद वाइकाउस र नेपाली टोलीको नेतृत्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले गर्नुभएको छ । त्यसैगरी, मंगलवार सहसचिवस्तरीय संयुक्त कार्य समूहको बैठकसमेत तय भएको छ ।

उक्त बैठकमा नेपाली टोलीको नेतृत्व सहसचिव दिनेश घिमिरेले गर्नुहुनेछ भने बंगलादेशका तर्फबाट पावर डिभिजन हेर्ने सहसचिव शेख फैजुल अमिनले टोलीको नेतृत्व गर्नुहुनेछ । बैठकमा क्रसबोर्डर इन्टरकनेक्सन सम्बन्धी छलफल हुनुका साथै विद्युत् व्यापारबारे समेत दुवै पक्षबीच वार्ता हुनेछ । त्यसैगरी, नवीकरणीय ऊर्जा क्षेत्रमा सहयोग, नेपालको जलविद्युत्मा बंगलादेशले लगानी गर्नेसम्बन्धी छलफल र जिएमआरबाट पाँच सय मेगावाट बिजुली बंगलादेशले खरिद गर्नेबारे समेत बैठकमा छलफल हुने बताइएको छ ।

पुन ऊर्जामन्त्री भएपछि नै बंगलादेशसँग ऊर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । काठमाडौंमा भएको उक्त समझदारीमा बंगलादेशका तर्फबाट ऊर्जा राज्यमन्त्री नसरुल हमिदले हस्ताक्षर गर्नुभएको थियो ।

Facebook Comments