रिटर्नी माइग्रेंट गण्डकी प्रदेश कमिटि गठन

रिटर्नी माइग्रेंट नेपाल गण्डकी प्रदेश कमिटीले पुर्णता पाएको छ । यसअघि गण्डकी प्रदेशको नवलपुरमा भएको प्रदेशस्तरीय भेलाले नेत्र थनैतको संयोजकत्वमा १९ सदस्यीय प्रदेश कमिटी बनाउने निर्णय गरेको थियो । सोमबार पोखरामा भएको बैठकले थनैतलाई अध्यक्ष, गुञ्जमान गुरुङ (कास्की)उपाध्यक्ष, दिपक पाण्डे (स्याङजा) सचिव, विष्णु पौडेल(पर्वत) सहसचिव र सुनिता पौडेल(गोर्खा) कोषाध्यक्ष रहने गरी कमिटीलाई पूर्णता दिएको हो ।

प्रवासबाट आर्जित सीप, ज्ञान र पूँजी स्वदेशका लागि भन्ने नाराका साथ रिटर्नी माइग्रेंट नेपाल गठन गरिएको हो । गण्डकी प्रदेशका ११ वटै जिल्लामा कमिटी विस्तार गर्ने तथा नमुना खालका कामलाई अगाडि बढाउन गण्डकी प्रदेशका अध्यक्ष नेत्र थनैतको भनाई रहेको छ । सोही भेलाले कास्कीमा बुद्धिप्रसाद सुवेदी, स्याङजामा हरि अर्याल र नवलपुरमा भिम बहादुर महतोलाई संयोजक तोकेको छ ।

भेलामा केन्द्रका महासचिव लक्ष्मीप्रसाद आचार्य, सल्लाहाकार चन्द्रबहादुर रोका लगायतले विदेशमा काम गरी फर्केकालाई आफ्नो पेशा व्यवसाय र रोजगारीका लागि संस्थागत रुपमा पहल गर्नुपर्ने बताउनुभयो । साथै विदेशमा रोजगारीमा जाने तथा रोजगारीमा रहेर समस्यामा परेका नेपाली दाजुभाई दिदीबहिनीलाई पनि संस्थाका तर्फबाट सहयोग गर्नुपर्ने विषयमा पनि भेलामा छलफल भएको थियो ।

वैदेशिक रोजगारीबाट फर्केका नेपालीहरु मध्ये केहीले आफ्नै लगानीमा कृषि तथा लघु उद्यममा नमुना कार्य गरिरहेका छन् । सरकारले पनि रिटर्नीहरुलाई लक्षित गरेर उद्यम या व्यवसाय गर्न चाहेमा सहुलियत ऋण, अनुदान लगायतका कार्यक्रम घोषणा गरेको छ ।

Facebook Comments