प्रमाण नष्ट गरिएकाले निर्मला हत्याका दोषी पक्राउमा ढिलाइ : परराष्ट्र मन्त्री ज्ञवाली

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रमाण नष्ट गरिएकाले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्यामा संलग्नहरू पक्राउ पर्न नसकेको बताउनुभएको छ । मंगलबार सुर्खेतमा आयोजित एक कार्यक्रममा मन्त्री ज्ञवालीले घटनालगत्तै प्रहरीकै मिलेमतोमा प्रमाण नष्ट गरिएको उल्लेख गर्नुभयो ।

निर्मला पन्तका लागि न्यायको विषय अहिले देशको प्रमुख विषय बनेको स्पष्ट पार्दै मन्त्री ज्ञवालीले विगतमा न्याय दिलाउन प्रमुख भूमिका खेल्नु पर्नेहरूबाट नै प्रमाण नष्ट भएकोले निर्मला पन्तको न्यायमा ढिलाइ भएको बताउनुभयो । सरकारले निर्मला पन्त हत्या काण्डलाई गम्भीरतापूर्वक हेरिरहेकोले न्याय मिल्ने विश्वास भने व्यक्त गर्नुभएको छ ।

अनुसन्धानका क्रममा केही ढिलाइ भएको मात्र भएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले हत्यारा पक्राउ पर्नेमा शंका नगर्न पीडित परिवारलाई आग्रह गर्नुभयो । निर्मलाको गत साउन १० बलात्कारपछि हत्या भएको थियो । घटनाको चार महिना बितिसक्दा पनि वलात्कार तथा हत्यामा संलग्नहरू अझै पक्राउ पर्न सकेका छैनन् ।

Facebook Comments