सरकारले लिएको अर्थनीतिले मुलुक समृद्ध हुन्नः काँग्रेस

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले गलत अर्थ नीति लिएको दावी गरेको छ । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बुधबारको बैठकमा पेश गरिएको पार्टीको अर्थ नीतिसम्बन्धि प्रतिवेदनमा सरकारले लिएको अर्थनीति गलत रहेको उल्लेख गरिएको हो । सरकारले लिएको अर्थ नीतिको बाटोबाट मुलुकलाई समृद्ध बनाउन नसकिने दावी पनि सो प्रतिवेदनमा गरिएको छ ।

अर्थसमितिका संयोजक एवम् पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले बुधवार पत्रकार सम्मेलन गर्दै सरकारले ‘नियन्त्रण र निषेध’मा आधारित अर्थ नीति लिएकाले यसबाट मुलुकको समृद्धि सम्भव नरहेको दावी गर्नुभयो । उहाँले सरकारले लिएको गलत आर्थिक नीतिकै कारण गत वर्षभन्दा यस वर्ष वैदेशिक लगानी ७५ प्रतिशत कम हुन गएको बताउनुभएको छ । स्वदेशी पूँजी पलायत हुने क्रम बढदै जानुमा पनि सरकारको गलत नीति मुख्य कारण रहेको काँग्रेसको निष्कर्ष रहेको छ ।

नेता महत नेतृत्वको आर्थिक समितिले केन्द्रीय कार्य समितिमा पेश गरेको अर्थनीति सम्बन्धि प्रतिवेदनमा मुलुकलाई समृद्ध बनाउन उत्पादनमा जोड दिनुपर्ने उल्लेख गरिएको छ । वृद्धि गरिएको उत्पादनमार्फत् आम नागरिकलाई सम्पन्न बनाउने लक्ष्य पनि प्रस्तुत आर्थिक नीतिले लिएको नेता महतले जानकारी दिनुभयो । आर्थिक नीतिमा प्रजातान्त्रिक समाजवादी बाटोबाटै मुलुकलाई समृद्ध बनाउने सकिने निष्कर्ष पनि निकालिएको छ ।

आसन्न मंसीर २८ गतेदेखि सुरु हुने पार्टीको महासमिति बैठकमा पेश गर्न पार्टीको आर्थिक समितिले सो प्रतिवेदन तयार पारेको हो । पार्टी केन्द्रिय कार्य समिति बैठकले पारित गरेपछि सो प्रतिवेदन महासमिति बैठकमा पेश गर्ने काँग्रेसको तयारी छ । केन्द्रीय कार्य समिति बैठकमा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा पनि पेश हुनेछ ।

यसअघि काँग्रेस केन्द्रिय कार्य समिति बैठकमा पार्टीको विधान संशोधन मस्यौँदामाथि छलफल गरिएको थियो । समितिमा केन्द्रीय सदस्यहरु एनपी साउद, धनराज गुरुङ, चित्रलेखा यादव, जीवन शाही, मीन विश्वकर्मा लगायत रहनुभएको छ । उनीहरुले विभिन्न क्षेत्रका अर्थ्विज्ञहरुसँग लामो छलफल पछि सो प्रस्ताव केन्द्रीय समितिमा पेश गरेका हुन् ।

Facebook Comments