सफल एक्सपो पोखरामा ‘बि टु बि मिटिङ’ गरिने

पोखरा महानगरपालिका नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सफल एक्सपो पोखरा जारी रहेको छ । एक्सपोकै अवसर पारी पोखरा उद्योग वाणिज्य संघले उद्यमशीलता सिकाउनको ‘बि टु बि मिटिङ’को पनि आयोजना गर्ने भएको छ । नेपाल महिला उद्यमी संघ(डब्लुइएएन) को संयोजनमा हुने यो बिजनेस मिटिङमा उद्यमशीलता चाहने महिलाहरुलाई प्रशिक्षण दिइने कार्यक्रम संयोजक तथा संघका उपमहासचिव चिनु गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार बि टु बि मिटिङ मंसिर २१ र २२ गते बिहान ८ बजेदेखि १० बजेसम्म पोखरा प्रदर्शनी केन्द्रमै आयोजना हुनेछ । स्टलमा सहभागी महिला उद्यमीहरुलाई सो कार्यक्रममा पहिलो प्राथमिकता दिइने र सिट सिमित भएको पनि उहाँले बताउनुभयो । यसैवीच एक्सपोमा पुराना व्यापारीहरुले निरन्तर स्टल राख्दै आएका छन् ।

पोखराको महिला सीप विकास केन्द्रले निरन्तर स्टल राख्ने गरेको छ भने कञ्चनपुरको भद्र मेरिट काष्ठ उद्योगका मनिराज भट्टले २०६१ सालदेखि देखि नै आफ्नो स्टल राख्ने गरेको जानकारी दिनुभयो । भट्ट स्वदेशमै केही गरौँ भन्ने ठानेर आफ्नो क्षेत्रमा पाइने औषधीय गुण भएको विजयसालको काठका विभिन्न भाँडाकुँडा बनाउन सिक्नुभयो अनि त्यसको बिक्री प्रवद्र्धनमा लागि पर्नुभएको छ । विजयसालकै काठका भाँडा लिएर चीनसम्म पुग्नुभएका भट्टलाई पोखराको नयाँबजारमा आयोजना हुने मेला उहाँलाई विशेष लाग्ने गरेको छ ।

महिला सीप विकास केन्द्रका उत्पादनहरु संसारभर बिक्छन् तर पोखरामा हुने प्रदर्शनीमा आफ्ना सामान राख्दा उद्यमशीलता सिक्न चाहने महिलालाई प्रेरणा दिने महिला सीप विकास केन्द्रकी रामकली खड्काको अनुभव छ । पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष तथा स्टल व्यवस्थापन संयोजक विन्दु कोइराला सुवेदीका अनुसार मेलामा वर्षौदेखि सहभागिता जनाउनेको संख्या ठूलो रहेको छ । उहाँले पोखरा उद्योग वाणिज्य संघले आयोजना राष्ट्रिय औद्योगिक व्यापार मेलाको नाम बदलिए पनि मेलाप्रति देखिएको आकर्षण सन्तोषजनक भएको उल्लेख गर्नुभयो ।

एक्स्पोका प्रचारप्रसार समितिका संयोजक तथा आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलका अनुसार व्यवसाय प्रर्वद्धन तथा उपभोक्ता र उत्पादकलाई एउटै थलोमा भेट गराउने उद्देश्यमा एक्सपो सफल भएको दावी गर्नुभयो । उहाँका अनुसार यसपटक पोखराको औद्योगिक क्षेत्रका उत्पादनहरु प्रदर्शन तथा बिक्रीको लागि राखिएको, पोखरा वरपरको होमस्टे तथा पर्यटकीय गन्तव्यबारे जानकारी दिने व्यवस्था मिलाइएको छ ।

पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा साँस्कृतिक उपसमितिका संयोजक केशवबहादुर खत्रीका अनुसार बिहीबार मंसिर २० गते चर्चित लोकदोहारी गायक प्रजापति पराजुलीसहित प्रकाश सपुत, चोलेन्द्र पौडेल, घनश्याम भुषाल, सरला पाण्डे, पार्वती जिसी, सीता केसी, अम्बर धिताल, माया गिरि, ईश्वर सिँह,नेत्र खड्का लगायतको प्रस्तुति रहनेछ ।

यता पपतर्फ दुर्गेश थापा प्रमुख आकर्षण रहनेछन् भने पोखरा दोहोरी घर र हाम्रो दोहोरी साँझ र लोकदोहोरी गीत प्रतिष्ठान बाग्लुङबीचको दोहोरी प्रतियोगिता पनि मेलाको आकर्षण रहनेछ । यसैगरी मगरहरुको साँस्कृतिक नाच कौरा, हाँस्य कलाकार रवि डंगोल र पूर्ण थापाले पनि दर्शकलाई भरपुर मनोरञ्जन दिनेछन् । रत्यौलीतर्फ पनि ४ समूहको प्रस्तुति रहनेछ ।

Facebook Comments