युवा समूह सामाजिक सचेतना एवम् सफलताका अनुभव साट्दै

प्रशंसा केसी सहितको युवा समूहले कास्कीस्थित जेसीआई कलेजमा आज सामाजिक सचेतना एवम् सफलताका अनुभव आदानप्रदान गरेको छ । विद्यमान विकृति विसंगतिका कारण हाम्रो समाजले विकासमा अपेक्षित फड्को मार्न नसकेको वास्तविकतामा यसको अन्त्यका लागि युवाहरूको भूमिकाका साथै असफलता भित्र पनि सफलता खोज्न सक्ने क्षमता अभिबृद्धिका लागि अनुभव आदानप्रदान गरिएको हो ।

समूहकी सदस्य केसीले आँफूहरूको स्वयम् व्यक्तिगत प्रयासमा यस किसिमको कार्यक्रम आयोजना गरिएको बताउँनुभयो । ग्लोकन टिन हिरो २०१८ ले सम्मानीत प्रशंसा के.सी. ले कार्यक्रममा समाजसेवा र भिडियोग्राफीका विविध पक्षबारे विद्यार्थीलाई जानकारी गराउँदै बालबिबाहले समाजमा पारिरहेको प्रभाव एवम् यसको अन्त्यका लागि खेल्नुपर्ने भूमिका बारे उल्लेख गर्नुभयो ।

युवा लेखिका दिपशिखा घिमिरेले आँफूले १३ वर्षको उमेरमा लेखेको ‘मेरो ज्ञान मन्दिर’ शीषकको बाल कविता संग्रहबारे चर्चा गर्दै लेखन सिप र क्षमता अभिबृद्धि सम्बन्धमा जानकारी गराउनुभयो । अर्का युवा सौगात तिवारीले युवामा उद्यमसिलता आवश्यक हुनेमा जोड दिदै आफ्ना अनुभव सुनाउनुभयो ।

विकल्प ढुङ्गानाले विज्ञान, प्रविधिका विविध पक्ष र उत्प्रेरणा सम्बन्धमा जानकारी गराउनुभएको थियो भने सुदर्शन सुवेदीले प्रत्येकले आफ्नो क्षमता चिन्न सक्नुपर्नेमा जोड दिनुभयो । करिब एक सय जना विद्यार्थी माझ गरिएको अनुभव आदानप्रदान कार्यक्रममा सहभागीले सामाजिक विकृतिको अन्त्यका लागि युवाले खेल्नुपर्ने भूमिकाका साथै असफलतामा सफलताको खोजी, स्वउत्प्रेरणा लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

Facebook Comments