निर्मलाको हत्यारा छिट्टै सार्वजनिक : रक्षामन्त्री पोखरेल

नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले निर्मला पन्तको हत्यारा पत्ता लागिसकेको बताउनुभएको छ । सरकारले पन्तको हत्यारा पत्ता लगाइसकेको र चाँडै नै सार्वजनिक गर्ने तयारी गरिरहेको उहाको भनाई छ ।

७० औं अन्तर्रा्ष्ट्रिय मानव अधिकार दिवस तथा १० औं मानव अधिकार राष्ट्रिय महाभेलालाई शनिबार ललितपुरमा सम्बोधन गर्दै मन्त्री पोखरेलले पन्तको हत्यारा पत्ता लागि सकेको अवस्थामा राजनीतिक दलहरू नै हत्याराको संरक्षणमा अघि सर्ने संभावना रहेको समेत संकेत गर्नुभयो ।

तर, राजनीतिक दलको आवरणमा कुनै पनि शक्ति निर्मला पन्तको हत्यारा जोगाउन आउने संभावना रहेको मन्त्री पोखरेलको भनाई थियो । उहाँले सरकारले हत्यारा सार्वजनिक गर्दा राजनीतिको ध्येय बोकेकाहरूले छाता ओढाउन आउने संभावना रहेको बताउनुभएको हो ।

‘ विधिसम्वत ढंगले हत्यारा सार्वजनिक गर्छौं । तर राजनीतिको ध्येय बोकेकाहरू छाता ओढाउन आउँछन् कि भन्ने डर छ पुष्पा जी ख्याल गर्नुहोला’–मन्त्री पोखरेलले भन्नुभयो । प्रतिपक्षी दलका नेता र कुनै अखबारको स्तम्भकारले जसरी सरकारले बोल्न नमिल्ने भन्दै मन्त्री पोखरेलले सरकारको नजरमा कोही पनि अपराधी उम्कन नसक्ने दाबी गर्नुभयो । उहाँले निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै आएका अधिकारकर्मीलाई हत्यारा सार्वजनिक गर्दा त्यसैको रक्षार्थ सक्रियता नदेखाउन चेतावनी पनि दिनुभयो ।

मन्त्री पोखरेलले भन्नुभयो– ‘निर्मला पन्तको बलात्कार र हत्यारालाई एउटा झण्डा बनाएर सडकमा आउनुभएको छ । माफ गर्नुहोला, त्यो अपराधी बाहिर ल्याउँदा यी मध्ये कसैले पनि छाता ओढाउन नआउनुहोला । आफ्नो राजनीतिको रोटी सेक्नु पर्दैन ।’ राष्ट्रिय महाभेलामा उपस्थित अधिकारकर्मीले मानवअधिकारको प्रत्याभूतिमा सरकारका कामकारबाही प्रभावकारी बन्न नसकेको टिप्पणी गरेका थिए ।

Facebook Comments