आर्थिक क्षेत्रलाई चलायमान बनाउन मेला महोत्सव महत्वपूर्ण : मन्त्री किरण गुरुङ

पोखरा उद्योग वाणिज्य संघले पोखराको नयाँबजारमा आयोजना गरेको ‘सफल एक्स्पो पोखरा साथमा तेस्रो मोबाइल मेला २०७५’ सम्पन्न भएको छ । मेला समापन समारोहमा प्रमुख अतिथी गण्डकी प्रदेशका आर्थिक मामला तथा योजना मन्त्री किरण गुरुङले आर्थिक क्षेत्रलाई चलायमान बनाउन मेला महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

उद्योग धन्दाको विस्तार एवं व्यवसायिक सुदृढीकरणका लागि आगामि दिनमा पनि यस्ता मेलालाई निरन्तरता दिनुपर्ने मन्त्री गुरुङको धारणा थियो । कार्यक्रममा सम्बोधन गर्दै गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले नीजि क्षेत्रसँगको सहकार्यमा मात्रै राज्यले समृद्धि हाँसिल गर्न सम्भव हुने उल्लेख गर्नुभयो ।

आयोजक संस्था पोखरा उद्योग संघका अध्यक्ष दामु अधिकारीले मेला मार्फत उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सृजना गर्ने उद्देश्यमा मेला सफल भएको उल्लेख गर्नुभयो । पोखराको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यमा समेत मेला अर्थपूर्ण साबित भएको अधिकारीको भनाई छ ।

पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यसहित मेलाको आयोजना गरिएको हो ।

टिकट नं. ७४८ लाई स्कुटर बम्पर उपहार

त्यस्तै, मेला समापन समारोहमा बम्पर उपहार समेत खोलिएको छ । बम्पर उपहार हिरोको ड्युट स्कुटर टिकट नं. ७४८ लाई परेको महासचिव अर्जुन पोखरेलले जानकारी दिनुभयो । रु. ४० को टिकमा सो उपहार पर्न सफल भाग्यशाली बिजेताले टिकटको अर्धकट्टी सहित १५ दिन भित्र संघको सचिवालयमा सम्पर्क गर्न सूचित गरिएको छ ।

दैनिक टिकट अन्तर्गत २३ गते अवलोकन गर्ने टिकट नं. १८०५० को दर्शकलाई १५० लिटरको एलजि रेफ्रिजेरेटर, त्यस्तै २४ गतेको टिकट नं. १९२४९ लाई युरोगार्ड परेको आयोजकले जानकारी दिएको छ । उक्त पुरस्कार दाबि गर्न अर्धकट्टी सहित तिन भित्र संघको सचिवालयमा उपस्थित हुन सूचित गरिएको छ ।

साँस्कृतिक कार्यक्रमका विजयी टोलीलाई पुरस्कार प्रदान

त्यस्तै मेला अवधिभर सञ्चालन भएका विविध सांस्कृतिक कार्यक्रम अन्तर्गत विभिन्न प्रतियोगितामा विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । रत्यौली गीत प्रतियोगितामा नमूना आमा समूह हेम्जा प्रथम स्थान हाँसिल गर्न सफल भई नगद रु. ३० हजार र प्रमाण पत्र प्राप्त गरेको छ ।

दोस्रो स्थान आर्वा विजय दिदी बहिनी समूहले हाँसिल गरी नगद रु. २० हजार र प्रमाण पत्र प्राप्त गर्न सफल रह्यो । तृतिय र सान्त्वना पुरस्कार क्रमशः महिला मिलन आमा समूह नदीपुर र नमूना कृषि समूह लेखनाथले प्राप्त गरे उनीहरुले क्रमशः नगद रु. १० हजार र नगद रु. ५ हजार सहित प्रमाण पत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।

दोहोरी गीत प्रतियोगितामा हाम्रो दोहोरी साँझ पृथ्वीचोकले प्रथम स्थान प्राप्त गर्न सफल बन्यो । जसले नगद रु. ५१ हजार सहित प्रमाण पत्र प्राप्त गरेको छ । द्वितीय, तृतिय र सान्त्वनाका लागि क्रमशः दोहोरी गीत प्रतिष्ठान स्याङ्जा, प्रतिष्ठान बागलुङ, सुमन केसी समूह सफल रहे र उनीहरुले क्रमशः नगद रु. ३१ हजार, नगद रु. २१ हजार र नगद रु. ११ हजार सहित प्रमाण पत्र प्राप्त गरे । मेला अवधिभर विभिन्न स्टल स्थापना गरी बिक्री एवं प्रदर्शनी गरेका ८ स्टललाई पुरस्कृत गरिएको थियो ।संघले थप संस्करणको सफल एक्स्पो पोखरा आगामि वर्ष २०७६ मंसिर १८ देखि २८ गतेसम्म सञ्चालन गर्ने मिति घोषणा गरेको छ ।

Facebook Comments