फ्रान्सका राष्ट्रपतिले आज राष्ट्रका नाममा सम्बोधन सम्बोधन गर्ने

फ्रान्समा महंगीविरुद्ध लगातारर प्रदर्शन भएको छ । प्रदर्शन चर्कदै गएपछि दबावमा परेका राष्ट्रपति इम्यानुअल म्याँक्रोले तलब वृद्धि र कर छुटको घोषणा गर्नुभएको छ । सोमबार टेलिभिजन मार्फत् देशबासीलाई सम्बोधन गर्दै उहाँले सन् २०१९ देखि न्युनतम तलब मासिक १ सय यूरो बढाउने, आम्दानी कम भएका र पेन्सन बुझ्ने नागरिकलाई कर छुट लगायतका सुविधा घोषणा गर्नुभएको हो ।

राष्ट्रपति म्याँक्रोले ओभर टाइमको आम्दानीमा पनि अब कर नलाग्ने व्यवस्थाको घोषणा गर्नुभएको छ भने रोजगारदाताहरुलाई वर्षको अन्तिममा कर छुट र एकमुस्ट बोनस दिने गरी प्रोत्साहित गरिने बताउनुभएको छ । तर धनाढ्यहरुलाई प्रोत्साहित गरी नयाँ रोजगारी सिर्जना गरिने उहाँको भनाई छ ।
यसअघि प्रदर्शनकारीलाई संयमता आग्रह गर्दै आउनुभएका राष्ट्रपति म्याक्रोनले प्रदर्शनले उग्र रुप लिएपछि राष्ट्रको नाममा सम्बोधन गर्नुभएको हो । 

यसैबीच फ्रान्सका अर्थमन्त्री ब्रुनो ले माइरेले देशमा भइरहेको महंगीविरुद्धको प्रदर्शनले अर्थतन्त्रलाई कमजोर बनाएको बताउनुभएको छ । उहाँले अहिलेको आन्दोलनले फ्रान्सेली समाज र लोकतन्त्रका लागि नै संकट सिर्जना गरेको उल्लेख गर्नुभयो । फ्रान्समा जारी आन्दोलनको सबैभन्दा बढी असर पेरिसमा परेको छ ।

दशौं हजार प्रदर्शनकारीहरु सडकमा उत्रिएर सार्वजनिक सम्पत्ति र सवारी साधनमा तोडफोड गरेका छन् । कतिपय व्यक्तिका गाडिमा आगजनी भएका छन् भने पसलहरुमा लुटपाटसमेत हुन थालेको छ । चार सातादेखि चर्केको आन्दोलनले फ्रान्समा निकै ठूलो क्षति भएको छ । प्रदर्शन चर्कंदै गएपछि प्रहरी र प्रदर्शनकारबीच झडपसमेत भएको छ ।

पहेंलो जर्सी लगाएर प्रदर्शनमा उत्रिएकाहरुले प्रदर्शनको शुरुमा मूल्यबृद्धि समायोजनको माग गरेको भए पनि अहिले राष्ट्रपतिको राजीनामा नै माग गरेका छन् । प्रदर्शनकारीहरुले पेन्सन, शिक्षा, आप्रावासन कटौती, कृषिक्षेत्रमा सुधारको मागसमेत गरेका छन् ।

यसैबीच फ्रान्स सरकारले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फ्रान्सको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै आलोचना गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले भने फ्रान्समा आन्दोलन चर्कदै गएपछि प्रदर्शनकारीका माग सम्बोधन गर्न फ्रान्स सरकारलाई सुझाव दिएका थिए ।

Facebook Comments