भारतको बिधानसभा निर्वाचन : कंग्रेसलाई राहत, सत्तारुढ भाजपालाई धम्का

भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टीले नराम्रो हार बेहोरेको छ । यसअघि नराम्रोसँग पराजित भएको कंग्रेसलाई भने निर्वाचनपछिको परिणामले केही राहन मिलेको छ । भाजपाकै सरकार रहेका ठाउँमा नराम्रो हार बेहोरेपछि सो पार्टीलाई आफ्ना कार्यक्रमबारे पुर्नविचार गर्नुपर्ने देखिएको छ ।

राजस्थान, मध्यप्रदेश, छत्तीसगढ, तेलंगाना र मिजोरम राज्यमा भएको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टीले नराम्रो हार बेहोरेको हो ।

पाँच मध्ये राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा भाजपाकै सरकार थियो । ती तीनै राज्यमा उसले यसअघिको बहुमत गुमाउँदै हार बेहोरेको छ । मध्यप्रदेश र छत्तीसगढको परिणामले भने भाजपाका लागि ठूलो झड्का ठानिएको छ ।

मध्यप्रदेशमा पाँच वर्षअघि भएको निर्वाचनमा २३० मध्ये १६५ सिट जितेको भाजपा यस पटक १ सय ९ सिटमा खुम्चिएको छ भने छत्तीसगढमा १५ वर्षदेखि सरकारको नेतृत्व गर्दै आएको भाजपा यस पटक पराजित भएको छ । उक्त प्रदेशमा कँग्रेसले बहुमत ल्याएको छ ।

यो प्रदेशमा कूल ९० सिटको प्रदेशसभामा भारतीय कंग्रेस पार्टीले ६८ सिटसहित बहुमत हासिल गरेको छ । सत्ताधारी दल भाजपा जम्मा १६ सिटमा सिमित भएको छ । पाँच वर्षअघि भएको निर्वाचनमा यहाँ भाजपाले ४९ सिट जितेको थियो ।

राजस्थानमा २०० सिटमा भएका चुनावमा कंग्रेसले ९९ सिटमा जित हात पारेको छ भने भाजपा ७३ सिटमा सिमित भएको छ ।

त्यसैगरी दक्षिणी भारतीय राज्य तेलंगानामा भने सत्ताधारी दल टीआरएसले भारी बहुमत हासिल गरेको छ । कूल ११९ विधानसभा सिटमध्ये मुख्यमन्त्री केसीआर राव नेतृत्वको टीआरए गठबन्धनले ८८ सिटमा विजयी भएको छ ।

कंग्रेस र तेलगुदेशम् पार्टी गठबन्धनले १९ सिट जितेको छ । अघिल्लो निर्वाचनमा पाँच सिट जितेको भाजपा यस पटक एक सिटमा मात्र विजयी बनेको छ ।

राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा ऐतिहासिक जित हात पारेको कंग्रेसले मिजोरममा भने नमीठो हार बेहोसेको छ । ४० सिटको मिजोरम विधानसभामा कंग्रेस ५ सिटमा सिमित भएको छ । त्याँ मिजोरम नेसनल फ्रन्टले २६ सिटसहित बहुमत हासिल गरेको छ ।

भारतीय जनता पार्टीको हारका पछाडि केन्द्रीय सरकारले पछिल्लो साढे चार वर्षमा लिएका नीति र प्रदेश सरकार सञ्चालनमा रहेका कमीकमजोरी प्रमुख रुपमा जिम्मेवार ठानिएको छ । त्यस्तै भाजपाले चुनावताका दिएको धार्मिक अतिवादको नाराविरुद्धको अभिमतसमेत रहेको कतिपयको विश्लेषण छ ।

चुनावी नतिजाले यसअघिका निर्वाचनमा नराम्रोसँग पराजित भएको कंग्रेसलाई केही राहत मिलेको छ भने भाजपालाई आफ्नो नीति कार्यक्रमबारे पुर्नविचार गर्न सोच्नुपर्ने ठाउँमा ल्याईदिएको छ ।

Facebook Comments