पोखराको मुख्य बजार क्षेत्रमा रहेका अव्यवस्थित तार हटाउने अभियान शुरु

पोखरा महानगरपालिकाको मुख्य बजार क्षेत्रमा रहेका अव्यवस्थित तारहरु हटाउने अभियान शुरु भएको छ । मुख्य चोकहरुका पोलहरुमा रहेका अव्यवस्थित (गुजुल्टा) परेका तार हटाउने अभियानको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शुभारम्भ गर्नुभएको हो । पोखराको सिद्धार्थचोकमा गुजुल्टा परेका तार काटेर विहीबार विहान अभियानको शुभारम्भ गरिएको हो ।

अभियान अन्तर्गत ४० दिनको अवधिमा महानगरका मुख्य स्थानहरुको तार हटाइने लक्ष राखिएको छ । महानगरपालिकाका प्रमुख जिसीका अनुसार चार चरणमा विभाजन गरेर काम थालिएको छ । पहिलो चरणको १० दिनमा सिद्धार्थचोकदेखी चिप्लेढुंगा न्यूरोड हुँदै सभागृृहचोकसम्मको तार हटाइने योजना छ ।

दोश्रो चरणमा चिप्लेढुंगाबाट पालिखेचोक, साँघुकोमुख, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोकहुँदै सभागृहचोकसम्मका तार हटाइनेछ । त्यस्तै तेश्रो चरणमा सभागृहचोकदेखी सृजनाचोक, जिरो किलोमिटरहुँदै हल्लनचोकसम्मका तार हटाउने याजना बनाइएको छ ।

चौंथो चरणमा हल्लनचोकबाट सहिदचोकहुँदै मुस्ताङ्गचोक सम्मका पोलका तारलाई तार हटाईने महानगरका प्रमुख जिसीले जानकारी दिनुभयो । ४ चरणको काम सम्पन्न भएपछि समीक्षा गरेर आवश्यक ठाउँमा थप कार्यक्रम सञ्चालन गर्ने पनि उहाँको भनाई छ ।

महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले तार हटाउने अभियान पोखरालाई थप सुन्दर बनाउने विश्वास व्इक्त गर्नुभयो । साथै उहाँले यस अभियानलाई पोखरालाई स्मार्ट सिटी बनाउने अभियानको रुपमा चर्चा गर्नुभयो ।

अव्यवस्थित तार हटाउने अभियानमा नेपाल विद्युत प्राधिकरण, इन्टरनेट सेवा प्रदायक संस्था, नेपाल टेलिकम, केबल व्यवसायी लगायतका सेवा प्रदायक संस्थाहरुसँग पनि सहकार्य गर्ने महानगरले जनाएको छ ।

महानगरले नेपाल टेलिकम, नेपाल विद्युत प्राधिरण, एनसेल सहित बाराहि इन्टरनेट, टेलनेट प्रा.लि., पोखरा केबल, वल्र्ड्लिङ्क कम्यूनिकेशन र पोखरा इन्टरनेट संस्थाहरुसंग छलफल गरि महानगरभित्रका अव्यवस्थित तार हटाएर व्यवस्थित गर्ने निर्णय गरेको थियो । अभियान सफल बनाउन तार ब्यवस्थापन सहजिकरण समिति गरेको थियो ।

महानगरका उपसचिव तथा सुचना अधिकारी गंगालाल सुवेदीको संयोजकत्वमा तार ब्यवस्थपान सहजीकरण समिति गठन गरिएको छ । समितिले अभियानका सञ्चालनका लागि सहजीकरण गर्ने बताइएको छ ।

Facebook Comments